
रियाद, साउदी : साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासले साउदीलाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने वा तेस्रो मुलुकबाट साउदी हुँदै नेपाल फर्कने नेपाली नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । पछिल्लो समय ट्रान्जिटकै क्रममा नेपालीहरू कानुनी झमेलामा पर्ने घटनाहरू बढ्दै गएपछि दूतावासले यस्तो सूचना जारी गरेको हो ।
दूतावासका अनुसार विगतमा साउदीमा रोजगारी गरेका र स्वदेश फर्किएका केही नेपालीहरू पुराना कानुनी अवस्थाहरू पूर्ण रूपमा समाधान नगरी यात्रा गर्दा समस्या भोगिरहेका छन् । वैध रूपमा एक्जिट भिसा लिएर फर्किएका व्यक्तिहरू समेत पुराना अभिलेख, बाँकी जरिवाना वा अपूर्ण कागजातका कारण ट्रान्जिटमै अड्किने गरेको पाइएको छ ।
सूचनामा ट्रान्जिटमार्फत यात्रा गर्नुअघि आफ्नो अघिल्लो कानुनी अवस्था स्पष्ट रूपमा बुझ्न र आवश्यक कागजातहरू तयार राख्न विशेष जोड दिइएको छ । साथै, रोजगारदाताबाट आवश्यक पर्ने एक्जिट वा इन्ट्री क्लियरेन्सको अवस्था बुझ्ने, साउदी छोड्दा सबै कानुनी प्रक्रिया पूरा भएको सुनिश्चित गर्ने र कुनै जरिवाना बाँकी नरहेको यकिन गर्नुपर्ने दूतावासको सुझाव छ ।
यस्तै, कतिपय अवस्थामा कम्पनीले कामदारलाई ‘हुरुब’ (फरार) सूचीमा राखेको हुन सक्ने भएकाले त्यसबारे पनि जानकारी लिन दूतावासले सचेत गराएको छ । यस्ता विषय बेवास्ता गर्दा ट्रान्जिटमै रोकावट, सोधपुछ वा अन्य कानुनी प्रक्रिया भोग्नुपर्ने जोखिम रहने दूतावासको भनाइ छ ।
दूतावासले वैशाख २२ गते सार्वजनिक गरेको सूचनामार्फत सबै नेपालीलाई जिम्मेवार र सचेत भएर यात्रा तय गर्न अपिल गरेको छ ।
