२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

चिडियाखानामा हिउँचितुवाका २६ महिना

८ माघ २०८०मा मोरङ चारघरेको बाँसको झ्याङमा कञ्चन भेटिएको थियो । धेरैले अचम्म माने । समुद्री सतहबाट १४६ मिटर उचाइमा रहेको न्यानो ठाउँमा हिउँचितुवा कसरी आइपुग्यो ?

Nada
अस्मिता बम
२०८३ वैशाख २५ गते ०६:२५
Shares
चिडियाखानामा हिउँचितुवाका २६ महिना

ऊ लजालु छ । एक्लै बस्न रुचाउँछ । तर, मानिसहरू खोज्दै उसलाई हेर्न आउँछन् । त्यो उसलाई मनपर्दैन, सायद । त्यसैले बेलाबेला रिसाउँछ । उसका लागि १६ डिग्रीभन्दा कमको वातानुकूलित खोर तयार पारिएको छ । त्यही सदर खोरमा उसले २६ महिना बिताइसकेको छ । 

ncell

ऊ अर्थात् हिउँचितुवा ‘कञ्चन’ – चिडियाखानाले राखिदिएको नाम । 

८ माघ २०८०मा मोरङ चारघरेको बाँसको झ्याङमा कञ्चन भेटिएको थियो । धेरैले अचम्म माने । समुद्री सतहबाट १४६ मिटर उचाइमा रहेको न्यानो ठाउँमा हिउँचितुवा कसरी आइपुग्यो ? यसबारे गहिरो अनुसन्धानै त भएन, उसलाई उद्धार भने तत्कालै गरियो । 

बाँस झ्याङबाट उद्धार गरिँदा कञ्चन पछाडिको बायाँ खुट्टाले टेक्न असहज मानिरहेको थियो । वन कार्यालयका प्राविधिकहरूले उसलाई दुई दिनपछि नै ललितपुरको सदर चिडियाखानामा ल्याइपुर्‍याए । १० माघमा चिडियाखाना ल्याएर सुरुमा स्वास्थ्य परीक्षण गरिएको थियो । सदर चिडियाखानाका प्रवक्ता गणेश कोइरालाका अनुसार, उसको शरीरमा कुनै बाहिरी चोट थिएन । स्वास्थ्य अवस्था पनि सामान्य नै थियो । 

हिउँचितुवाका अध्येता मात्र होइन, वन्यजन्तु तस्करीका अनुसन्धानकर्ताले समेत कञ्चन कसरी मोरङ पुग्यो अनुमान गर्न सकेका थिएनन् । सुरुमा हिमाली भेगमा लगेर छाडिदिनेबारे छलफल गरिएको थियो । तर, सिकारीको फेला पर्ने खतरा उत्तिकै थियो । उसलाई चिडियाखानामै राख्न पनि चुनौती थिए । ‘ल्याइसकेपछि छाड्न उपयुक्त हुँदैन भन्ने निष्कर्ष निस्कियो । त्यसरी चिडियाखानामै राखिएको हो,’ कोइरालाले भने । कञ्चनजंघा हिमशृंखलाको फेदबाट ल्याइएकाले उसको नाम पनि ‘कञ्चन’ राखिएको उनी बताउँछन् । 

कञ्चन अहिले चिडियाखानाभित्रको जाली, तारबारसहितको बासस्थानमा छ । हिमाली वातावरण अनुकूलन गर्न खोरको तापक्रम १६ डिग्रीभन्दा कम हुनेगरी व्यवस्था मिलाइएको छ । त्यसका लागि कुुलर र एसीसहितको कोठाको प्रबन्ध मिलाइएको छ । तर पनि ऊ धेरै समय कोठाबाहिरै हुन्छ । चिडियाखानाका कर्मचारीलाई लाग्न थालेको छ, ‘हिउँचितुवा अब ललितपुरको घामपानीमा रमाउन थालेको छ ।’ 

कञ्चनको दैनिकी 

हिउँचितुवाको स्वभावै हो, अति लजालु र एक्लै बस्न रुचाउने । तर, कञ्चन सहर पसेको छ । जहाँ उसलाई हेर्न मानिसहरू आउँछन् । चिडियाखानको हल्लाखल्लामा उसको दैनिकी बितिरहेको छ । ‘हिउँचितुवा एक्लै बस्न रुचाउँछन् । भिडभाडबाट टाढा रहने स्वभाव हुन्छ,’ समुदायमा आधारित संरक्षण शिक्षाकर्मी अनिल अधिकारी भन्छन्, ‘चिडियाखानामा प्रायः हुने मानिसको भिडभाडले उसलाई पक्कै अशान्ति भइरहेको छ ।’ त्यसैले उसलाई सधैं घोप्टो परेर सुत्ने बानी परेको बुझ्न कठिन छैन । मानिसहरूको चहलपहल र होहल्लाले उसलाई दिक्क बनाएको हुनसक्ने विज्ञहरू बताउँछन् । 

हिउँचितुवा राखेको खोरमा १८ डिग्री तापक्रममा एसी चलिरहेको हुन्छ । गर्मी मौसममा तापक्रम अझै घटाइन्छ । कुलर पनि चलाइन्छ । जमिनभन्दा थोरै माथि उठाइएको काठको बस्ने ठाउँ छ । त्यहाँ धेरै समय बिताउँछ । कोठाभित्रको चिसोमा भन्दा ऊ बाहिर नै बढी बस्ने गर्दछ । काठमाडौं उपत्यकामा २० देखि ३० डिग्रीको तापक्रमले पनि उसले वातावरणीयय अनुकूलन गरेको हुनसक्ने अधिकारी बताउँछन् । 

मोरङबाट ललितपुर ल्याउँदा कञ्चन तीन वर्षको थियो । अहिले करिब साढे पाँच वर्षको भइसकेको छ । नियमित आहारा र चेकजाँचले उसको स्वास्थ्य अवस्था राम्रो रहेको प्रवक्ता कोइराला बताउँछन् । ‘हिमालतिर हुँदा चोटपटक लागे पनि उपचार हुन्न । दिनदिनै आहारा पाउन पनि मुस्किल होला । तर यहाँ ल्याएपछि सबै कुरा समयमै उपलब्ध भएको छ । त्यसले कञ्चनमा सकारात्मक परिवर्तन आएको मान्न सकिन्छ,’ उनी भन्छन् । 

कञ्चनलाई हरेक दिन डेढ किलो मासु खुवाउने गरिएको किपर दिनेश कर्माचार्य बताउँछन् । ‘कुखुरा र राँगाको मासु दिन्छौं,’ उनले भने, ‘सुरुसुरुमा कुखुराको मासु रुचाउँथ्यो । तर, अहिले राँगाको मासु नै रुचाउँछ । त्यसैले अचेल प्रायः राँगाको मासु नै आहारा दिइन्छ ।’

चिडियाखानाले उसलाई हरेक दिन आहारा दिन्छ । तर, कहिलेकाहीँ उसले खाँदैन । कुनै समय त दिन बिराएर वा दुई/तीन दिनपछि मात्रै खाने गरेको किपर कर्माचार्य बताउँछन् । आहारासँगै पानीको व्यवस्था पनि दिनदिनै गरिन्छ । 

चिडिखानाकी पशु चिकित्सक दिव्या पौडेल पनि कञ्चनको स्वास्थ्य राम्रो रहेको बताउँछिन् । उसका लागि आवश्यक भिटामिन दैनिक रूपमा दिने गरिएको उल्लेख गर्दै भन्छिन्, ‘नियमित खानपानले कञ्चन मोटाएको छ । दैनिक भिटामिन पनि दिने गरिएको छ ।’ 

फेरियो स्वभाव 

हिमाली भेगको हिमपातले सेताम्मे भीर पखेरामा रमाइरहेको हिउँचितुवा पहाडी उपत्यकाको एउटा चिडियाखानामा कुँजिएको छ । हिउँचितुवालाई चिडियाखानामा थुनेर राखेको खबरसँगै विश्व वन्यजन्तु कोषलगायत वन्यजन्तु संरक्षणका क्षेत्रमा क्रियाशिल संघसंस्थाले पनि चासो देखाएका थिए । सोही कारणले चिडियाखानाले केही समय हिउँचितुवाबारे सूचना दिन र तस्बिर खिच्नसमेत रोकेको थियो । तर, समय बित्दै जाँदा उसको पक्षमा बोल्ने समुदाय अचेल चुपचाप छन् ।

त्यसो त, हिउँचितुवा चिडियाखानामा राखिएको नेपालमा मात्र होइन् । विश्वका विभिन्न देशका चिडियाखानामा झण्डै ६०० वटा हिउँचितुवा रहेको अनौपचारिक तथ्यांकहरूले देखाउँछ । 

दैनिक दर्शकहरूको चहलपहल र कृत्रिम वातानुकूलनले हिउँचितुवाको मानसिक स्वास्थ्यमा असर पार्नसक्ने अध्येताहरूले बताएका छन् । कैदमा रहेका जनावरहरूले प्रायः असामान्य व्यवहार देखाउँछन् । जस्तैः बारम्बार एउटै ठाउँमा हिँडिरहने, अथवा बसिरहने स्वभाव देखिन सक्छ । तर कञ्चन भने अहिले त्यहाँको वातावरणमा घुममिल भइसकेको दाबी उसका किपर दिनेश कर्माचार्यको छ । सुरुमा चिडियाखाना ल्याउँदा डराएजस्तो, मानिस देख्दा तर्सिने, कराउने गरे पनि अहिले ती स्वभावमा परिवर्तन आइसकेको उनी बताउँछन् । भन्छन्, ‘सुरुमा ल्याउने बेला खाना दिन जाँदा पनि जोडजोडले कराउँथ्यो । अहिले हामीलाई चिनेजस्तो व्यवहार गर्छ । झट्ट हेर्दा उसको व्यवहार सामान्य छ ।’  

कञ्चनलाई ल्याइएको समयमा बानी पार्नकै लागि पनि करिब ८ महिना १६ डिग्री तापक्रममा राखिएको प्रवक्ता कोइराला बताउँछन् । अहिलेकोठाभित्रको चिसोभन्दा पनि कञ्चनले काठमाडौंको सामान्य वातावरणलाई स्वीकारीसकेको उल्लेख गर्दै उनी भन्छन्, ‘बानी पार्न एसीसहितको कोठा अनि बाहिर खोर बनाइयो । अहिले उसलाई कोठाको चिसोभन्दा पनि बाहिरकै मौसम बढी मन पर्छ । धेरै समय बाहिर नै बिताउँछ । बानी परिसक्यो यताको मौसममा ।’

डा पौडेलका अनुसार, समय–समयमा उसको दिशा–पिसाब परीक्षण गर्ने गरिएको छ । त्यसका आधारमा उ स्वस्थ रहेको उनी बताउँछिन् । कुनै अन्य उपचार गर्नु परेमा भने उसलाई बेहोस पारेर उपचार गर्ने गरिएको डा पौडेलले बताइन् ।   

सदर चिडियाखानाको इतिहासमा हिउँचितुवा भने यो नै पहिलो हो । वन्यजन्तुका दृष्टिकोणबाट हेर्दा चिडियाखाना बन्धनजस्तो देखिए पनि संरक्षणसम्बन्धी जनचेतना फैलाउका लागि पनि चिडियाखाना सहयोगी हुने हिउँचितुवा विज्ञ अधिकारी बताउँछन् । 

त्यसका फाइदाबारे भने चिडियाखानाका प्रवक्ता कोइरालाले बेलिबिस्तार लगाए– शहरमा बस्ने मानिसहरूले यस्ता दुर्लभ जनावरहरू प्रत्यक्ष देख्न पाउँछन् । वन्यजन्तु संरक्षणप्रति रुचि बढाउन सक्छ । बालबालिकाहरूमा प्रकृतिप्रति माया जगाउन पनि यसले भूमिका खेल्न सक्छ ।

२ प्रतिशत भूभाग, १० प्रतिशत हिउँचितुवा 

हिउँचितुवा समुद्री सतहबाट दुई हजार ७०० देखि पाँच हजार ६०० मिटरको उचाइमा पाइने वन्यजन्तु हो । हिउँचितुवा एक दुर्लभ र अति सुन्दर वन्यजन्तु हो । यसको लुकीछिपी बस्ने, अत्यन्तै सतर्क र आफूलाई हिमाली क्षेत्रमा लुकाएर राख्न सक्ने विशिष्ट स्वभाव र क्षमता हुन्छ । नेपालका मुस्ताङ, मनाङ, मुगु, हुम्ला, डोल्पा, रसुवा, सोलुखुम्बु र ताप्लेजुङका प्रायः तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइसम्मका चट्टानी र बर्फिला क्षेत्रमा हिउँचितुवा पाइन्छ । एक्लै बस्ने स्वभाव रहेको हिउँचितुवाको मुख्य आहार नाउर, झारल, कस्तुरी मृग, फ्याउ मुसो, हिमाली खरायो, डाँफेजस्ता हिमाली वन्यजन्तु हुन् । 

नेपालको उत्तरी हिमाली भेगको झन्डै ३० हजार वर्ग किलोमिटर भूभाग हिउँचितुवाका लागि उपयुक्त रहेको विज्ञहरूले बताउँदै आएका छन् । अझ रोचक त के छ भने हिउँचितुवा पाइएको क्षेत्रमध्ये ५८ प्रतिशत संरक्षित क्षेत्रभित्र पर्छ । ४२ प्रतिशत भूभाग मात्र निकुञ्जबाहिर रहेको छ । हिउँचितुवा नेपालसहित अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मंगोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ । 

वन तथा वातावरण मन्त्रालयले २०२५मा सार्वजनिक गरेको तथ्यांकले नेपालमा ३९७ वटा हिउँचितुवा रहेको देखाउँछ । विश्वभर ४ देखि ६ हजार ५००को हाराहारीमा हिउँचितुवा रहेको अनुमान छ । नेपालको वासस्थान विश्वको हिउँचितुवा पाइने क्षेत्रको करिब दुई प्रतिशत हुन आउँछ । तर, नेपालमा करिब १० प्रतिशत हिउँचितुवा रहेको दाबी विज्ञहरूले गरेका छन् । 

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्र, लाङटाङ राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्रजस्ता उच्च हिमाली क्षेत्रमा हिउँचितुवाका लागि चर्चित छन् । नेपालमा क्यामेरा ट्रयापिङ, डिएनए सर्वेक्षण र स्पाचुअल्ली एक्सप्लिसिट रिक्याप्चर मोडेलजस्ता आधुनिक वैज्ञानिक विधि प्रयोग गरेर हिउँचितुवाको संरक्षण गरिँदै आएको शिक्षाकर्मी अनिल अधिकारी बताउँछन् । तर जलवायु परिवर्तन र मानव दबाबका कारण दीर्घकालीन संरक्षण अझै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । 

सम्बन्धित खबर