२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

ककरोच जनता पार्टी : भारतमा न्यायालयको टिप्पणीविरुद्ध युवाहरूको व्यंग्यात्मक राजनीतिक 'विद्रोह'

Nada
२०८३ जेठ ७ गते १४:०३
Shares
ककरोच जनता पार्टी : भारतमा न्यायालयको टिप्पणीविरुद्ध युवाहरूको व्यंग्यात्मक राजनीतिक 'विद्रोह'

काठमाडौं : भारतको सर्वोच्च अदालतका न्यायाधीशको एउटा विवादास्पद टिप्पणीपछि सामाजिक सञ्जालमा सुरु भएको 'ककरोच जनता पार्टी' (सिजेपी) नामको एउटा व्यंग्यात्मक अभियानले अहिले ठुलो रूप लिएको छ । यो अनलाइन मुभमेन्ट यतिबेला युवाहरूका बीचमा निकै चर्चाको विषय बनेको छ, जसले भारतीय राजनीतिमा नयाँ हलचल पैदा गरिदिएको छ ।

ncell

यस अभियानको सुरुवात सर्वोच्च अदालतका न्यायाधीश जस्टिस सूर्यकान्तको एउटा बयानबाट भएको हो । उनले प्रणालीको आलोचना गर्ने र राय दिने देशका युवाहरूलाई 'साङ्लो' (ककरोच) र 'परजीवी' सँग तुलना गरेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो । यद्यपि, जस्टिस सूर्यकान्तले पछि आफ्नो कुरालाई सञ्चारमाध्यमले गलत रूपमा प्रस्तुत गरेको भन्दै स्पष्टीकरण दिएका थिए ।

यही बयानबाट आक्रोशित र निराश बनेका युवाहरूलाई समेट्दै महाराष्ट्रका अभिजीत दीपकेले 'ककरोच जनता पार्टी' नामक एउटा 'प्यारोडी' व्यंग्यात्मक पार्टीको अवधारणा ल्याए । उनी भन्छन्, 'यदि तपाईं हामीलाई ककरोच भन्नुहुन्छ भने, ठिक छ, हामी ककरोच जनता पार्टी नै बनाउँछौं ।"

सिजेपीका संस्थापक अभिजीत दीपके मूलतः महाराष्ट्रको छत्रपति सम्भाजी नगरका हुन् । पुणेबाट स्नातक गरेपछि उनले केही समय 'आम आदमी पार्टी'को सञ्चार टोलीमा काम गरेका थिए । हाल उनी अमेरिकाको बोस्टन विश्वविद्यालयबाट आफ्नो उच्च शिक्षा पूरा गरेर भारत फर्कने तयारीमा छन् ।

सिजेपीको इन्स्टाग्राममा ४० लाखभन्दा बढी फलोअर्स भइसकेका छन् भने वेबसाइटमा २ लाखभन्दा बढी मानिसले सदस्यताका लागि दर्ता गरिसकेका छन् । पछिल्लो अपडेट अनुसार यसको फलोअर्स संख्या १ करोड नाघेको बताइएको छ ।

यस पार्टीको सदस्य बन्नका लागि अभिजीतले रमाइलो 'पात्रता' तोकेका छन् । सदस्य हुनका लागि व्यक्ति 'अल्छी', 'बेरोजगार' र 'सधैं अनलाइन रहने' हुनुपर्छ- जुन शब्दहरू न्यायाधीशले युवाहरूलाई अपमान गर्न प्रयोग गरेको आरोप छ ।

सिजेपीले रमाइलो मात्र गरिरहेको छैन, यसले गम्भीर राजनीतिक मुद्दाहरू पनि उठाएको छ ।

न्यायपालिकाको स्वतन्त्रता : न्यायाधीशहरू अवकाशपछि सरकारबाट लाभ लिने प्रवृत्ति खतरनाक रहेको र न्यायपालिका स्वतन्त्र हुनुपर्ने माग सिजेपीको छ ।

महिला आरक्षण : महिलाहरूका लागि ३३ प्रतिशत नभई ५० प्रतिशत आरक्षण हुनुपर्ने माग सिजेपीको छ ।

रोजगारी र विकास : युवाहरूलाई धर्म र जातको राजनीति (हिन्दु-मुस्लिम उपदेश) भन्दा टाढा राखेर प्रविधि र रोजगारीमा केन्द्रित गर्नुपर्ने माग पनि सिजेपीले अगाडि सारेको छ ।

अभिजीतका अनुसार, भारतीय 'जेनजी' युवाहरू हिंसामा विश्वास गर्दैनन् । उनीहरू ककरोचको 'कस्ट्युम' लगाएर यमुना नदी सफा गर्ने वा फोहर हटाउने जस्ता काम गरेर प्रणालीको खिल्ली उडाइरहेका छन् । यो एउटा लोकतान्त्रिक र शान्तिपूर्ण विरोधको शैली हो, जसलाई पूर्वक्रिकेटर कीर्ति आजाद र सांसद महुआ मोइत्रा जस्ता व्यक्तित्वहरूले पनि समर्थन गरेका छन् ।

अभिजीत दीपके यसलाई एउटा सुरुवात मात्र मान्छन् । उनी भन्छन्, 'युवाहरू वर्तमान राजनीतिक व्यवस्थाबाट थाकिसकेका छन् र उनीहरू परिवर्तन चाहन्छन् ।' भारत फर्किएपछि उनले यस अभियानलाई अझ अगाडि बढाउने र युवाहरूको आफ्नै एउटा बलियो 'पोलिटिकल फ्रन्ट' तयार गर्ने लक्ष्य राखेका छन् ।

सम्बन्धित खबर