२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

माउन्ट एभरेस्ट एचआर प्रा.लि.को कार्ड देखाएर करोडौं ठग्ने पक्राउ

Nada
२०८३ जेठ ८ गते १५:१४
Shares
माउन्ट एभरेस्ट एचआर प्रा.लि.को कार्ड देखाएर करोडौं ठग्ने पक्राउ

काठमाडौं : नक्कली म्यानपावर कम्पनीको आवरणमा वैदेशिक रोजगारको नाममा करोडौंको ठगी गरेको उजुरीका आधारमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सिंगापुर र अस्ट्रेलियामा रोजगार लगाइदिने भन्दै गैरकानुनी रूपमा राजधानीको सामाखुसीमा कार्यालय  खोलेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका शरण थापालाई प्रहरीले बिहीबार पक्राउ गरी शुक्रबार वैदेशिक रोजगार विभागमा बुझाएको छ ।

थापाले माउन्ट एभरेस्ट एचआर प्रा.लि.को भिजिटङ कार्ड देखाएर अस्ट्रेलियाका लागि ४५ लाख तथा सिंगापुरका लागि २५ लाख गरी १० कराेड बढी रकम उठाएको पीडितहरूको भनाइ छ । थापा पक्राउ परेपछि पीडितहरू शुक्रबार  वैदेशिक रोजगार विभाग पुगेर उजुरी दर्ता गरिरहेका कारण ठगीको बिगो एकिन हुन समय लाग्ने बताइएको छ । 

थापाले करारपत्रको ढाँचामा कबुलियतनामा बनाई सम्झौता गरेर रकम उठाएको पीडितहरुले बताएका छन् । थापाले कहीँकतै दर्ता नगरेको भएपनि कबुलियत नामामा नेपाल सरकारबाट इजाजत प्राप्त माउन्ट एभरेस्ट एचआर प्रा.लि. भन्दै कडा प्रावधानको कबुलियत नामा बनाएको पनि पीडितहरुको भनाइ छ । 

कबुलियतनामामा 'रोजगारी दिने देशमा मेरो मेडिकल अनफिट भई पद अनुसारको काम गर्न नसकी वा कम्पनीभित्र वा बाहिर गई झैझगडा गरी कम्पनी या प्रहरीले पक्राउ गरी फर्काइदिएमा वा फर्किआएमा रोजगार दिलाइदिने प्रा.लि.लाई कुनै किसिमको दोष दिई रोजगारको निमित्त कम्पनीमा भिसा र हवाई टिकटबापत बुझाएको रकम फिर्ता पाउँ भनि कुनै पनि किसिमको झगडा गरेर उक्त रकम फिर्ता माग गर्ने छैन' भन्ने व्यहोराको कागज गराएर रकम उठाएको पीडितहरुको भनाइ छ। 

त्यस्तै 'यदि कम्पनी बन्द भएमा वा अन्य कारणले कम्पनीले काम दिन नसकी कम्पनीका कारणले फिर्ता भएको खण्डमा विदेश जाने कामदारले नेपाल आई क्षतिपूर्ति दाबी गरेमा निज कामदार जाँदा लागेको टिकट तथा श्रम खर्च कटौती गरी सम्बन्धित कार्यालयले बाँकी रकम कम्तीमा ३ महिनाको समय लिइ फिर्ता गर्ने' समेत सर्त उक्त नक्कली कम्पनीले गराएको कागजात पीडितहरुले सार्वजनिक गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर