२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

असुरक्षित नेपाली आकाश : १४ दिनमै दोस्रो हवाई दुर्घटना

ADV
दिवाकर अधिकारी
२०८१ साउन २४ गते ०६:४५
असुरक्षित नेपाली आकाश : १४ दिनमै दोस्रो हवाई दुर्घटना

काठमाडौं : पछिल्लो दुई साताको अवधिमा नेपाली आकाशमा दुई ठुला हवाई दुर्घटना भएका छन् । साउन ९ गते सौर्य एयरको जहाज दुर्घटना भएको थियो । १४ दिनमै बुधबार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । 

त्रिभुवन विमानस्थल परिसरमै भएको सौर्य एयरको जहाज दुर्घटनामा पाइलट बाँचेका थिए भने १८ जनाको मृत्यु भएको थियो । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर तीन मिनेटमै दुर्घटनामा पर्दा चालकसहित पाँच जनाको मृत्यु भएको छ । 

उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको हेलिकोप्टर काठमाडौं र नुवाकोटको सीमाक्षेत्रस्थित नुवाकोटको शिवपुरी ७ मा रहेको जंगलमा खसेको हो । 

दुर्घटनामा परेर चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ । नेपाली पाइलटको पनि मृत्यु भएको छ । हेलिकोप्टर पाइलट अरुण मल्लले उडाएका थिए । उनीसँगै दुर्घटनामा परेको चिनियाँ नागरिकहरु जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका थिए ।

नेपाल नागरिक उड्ययन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्ति निकालेर  मृतक सबैको शव संकलन गरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको जानकारी दिएको छ । 

यस क्षेत्रका जानकारहरू हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको बताउँछन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जिव गौतम एकपछि अर्को हवाई दुर्घटनाले समग्रमा नेपालको नागरिक उड्ययन क्षमतामा समस्या छ भन्ने पुष्टि गरेको बताउँछन् । यसलाई सुधार्न नीतिगत र संरचनागत परिवर्तन गर्नुपर्नेमा उनको जोड रहेको छ ।

हवाई विज्ञ अच्युत पहाडी पनि बारम्बारको हवाई दुर्घटनाले मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही देखिएको बताउँछन् । दुई सातामै दुई वटा दुर्घटना हुनु दुर्भाग्य रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘तुलनात्मक रुपमा सुरक्षित मानिएको हवाई सेवा सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ ।’ नेपालका सबै एयरलाइन्सको, टेक्निकल अडिट, फाइनान्सियल अडिट र अप्रेसनल अडिट सुक्ष्म रूपमा नगर्ने हो भने छिट्टै अरु दुर्घटना निम्तने खतरा रहेको उनले औंल्याए । 

हवाई सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय चासोका रूपमा रहेको नेपाल नागरिक उड्ययन प्राधिकरण विभाजनसम्बन्धी विधेयकलाई चाँडो पारित गरेर नियामक र सेवा प्रदायकका रूपमा बनाउन अपरिहार्य भइसकेकोमा यस क्षेत्रका सरोकारवालाहरूको जोड रहेको छ । 

जाँचबुझ आयोग गठन

सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । 

मन्त्रिपरिषद्को सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो । आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार एयर डाइनेस्टीको हेलिकप्टरका पाइलट मल्ल वरिष्ठ र अनुभवी पाइलट थिए । उनले करिब सात हजार घण्टा उडान भरिसकेका थिए । 

बुधबार पनि लोड धेरै थिएन । चार जना मात्रै यात्रु थिए । तर कसरी दुर्घटना भयो भनेर आश्चर्यमा परेको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

उनीहरूका अनुसार दुर्घटना अप्रत्यासित छ । किनभने, काठमाडौँमा ‘भिएफआर फ्लाइट’ चलिरहेको थियो । काठमाडौँबाट पाँच किलोमिटरसम्मको ‘भिजिबिलिटी क्लियर’ थियो ।

प्राधिकरणका अधिकारीहरू भन्छन्, काठमाडौँको नजिकै जुनकिसिमको हवाई दुर्घटना भएको छ, यसले प्राधिकरणलाई गम्भीर बनाएको छ । प्राधिकरणले पनि आफ्नो आन्तरिक छानबिन गर्नेछ । 

ADVADV

सम्बन्धित खबर

Advertise