
इनरुवा : मुस्लिम महिलाको सशक्तीकरणका लागि राज्यको मूलप्रवाहमा मुस्लिम समुदायको सहभागिता अनिवार्य रहेको पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले बताएका छन् ।
सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका सभा हलमा आयोजित ‘मुस्लिम महिलाको सशक्तीकरण’विषयक विचारगोष्ठीलाई सम्बोधन गर्दै उनले मुस्लिम समुदाय राज्यको मूलप्रवाहमा समावेश हुन नसक्दा नीति निर्माण तहसम्म पहुँच पुग्न नसकेको उल्लेख गरे ।
उनले भने, ‘राज्यको मूलप्रवाहमा नसमेटिँदा नीति निर्माण तहमा मुस्लिम समुदायको पहुँच पुग्न सकेन । त्यसकै परिणामस्वरूप आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा राजनीतिक समस्याहरू उत्पन्न भएका हुन् । यी सबै समस्याको दीर्घकालीन समाधान मुस्लिम समुदायलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउनु नै हो ।’
पूर्वमन्त्री हुसैनले कन्या मद्रसा (बनात) हरूलाई केवल बेहुली उत्पादन केन्द्रका रूपमा विकास गर्ने प्रवृत्ति दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्दै ती संस्थालाई मुस्लिम महिलाको उच्च शिक्षा, चेतना र सशक्तीकरणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले मुस्लिम महिलाको अवस्था अझै पनि चुनौतीपूर्ण रहेको बताउँदै उनीहरूको सशक्तीकरणका लागि मुस्लिम आयोग, राज्य तथा समुदाय सबैको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखिन् ।
मुस्लिम आयोगका अध्यक्ष मुहम्मद्दीन अलीले मुस्लिम महिलाको शिक्षा, चेतना तथा नेतृत्व विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए । उनले समुदायभित्र रहेका परम्परागत सोच र विभेद अन्त्य गर्दै महिलालाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने बताए ।
त्यस्तै, अल् हेरा एजुकेशनल सोसाइटीका अध्यक्ष मौलाना गुलाम रसूल फलाहीले मुस्लिम महिलाको शिक्षाविना समुदायको समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै आधुनिक र धार्मिक शिक्षाको समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा भोक्राहा–नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल आजाद, गफार अन्सारी, मुस्लिम आयोगका सदस्यद्वय मिर्जा अर्शद बेग र शमसुद्दीन मिकरानी लगायतले पनि मन्तव्य राखेका थिए ।
मुस्लिम महिलाको शिक्षा, अधिकार, सहभागिता तथा नेतृत्व विकासका विषयमा केन्द्रित उक्त विचारगोष्ठीमा मद्रसाका कन्या विद्यार्थी तथा स्थानीय महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।