
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठलाई पार्टीको केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागको सदस्य पदमा मनोनीत गरेको छ । आइतबार पार्टी महामन्त्री भूपदेव शाहले श्रेष्ठलाई उक्त विभागमा मनोनीत गरेका हुन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वमहासचिव तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका कार्यवाहक अध्यक्षसमेत रहिसकेका श्रेष्ठ नेपालको वैदेशिक रोजगार क्षेत्रमा एक परिचित व्यवसायी हुन् ।
पार्टी सदस्यता नं. काठमाडौं १क– ०००३४६३२९ रहेका श्रेष्ठलाई विभागको सदस्य पदमा रहेर पार्टीको विधान, नीति, सिद्धान्त र विभागको नियमावली तथा कार्यविधि बमोजिम आफ्नो पदीय जिम्मेवारी गर्ने अपेक्षा गरिएको रास्वपाले बताएको छ ।
उक्त विभागको प्रमुखमा श्यामबाबु गौतम, उपप्रमुखमा कविता शाह, सचिवमा केशवराज अधिकारी रहेका छन् ।
अर्का वैदेशिक रोजगार व्यवसायी नुर मोहम्मद मियाँ पनि विभागमा सदस्य छन् ।