
सरकारले जेठ १५मा आर्थिक वर्ष २०८३/८४को आयव्यय सार्वजनिक ग¥यो । बजेटसँगै आर्थिक विधेयक पनि संसद्मा पेस भए, जसमा करका दर, छुट र राजस्वसम्बन्धी व्यवस्था स्पष्ट पारिएका थिए । यो प्रक्रिया निकै संवेदनशील मात्र हुँदैन, पारदर्शी पनि हुनुपर्छ । तर, यस वर्षको बजेटपछि आर्थिक विधेयकमै पटक–पटक संशोधन भएको तथ्य बाहिर आउनुले अर्थ मन्त्रालयप्रति प्रश्न उठेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरेपछि अर्थ मन्त्रालयले वेबसाइटमा राखेको आर्थिक विधेयकमा पटकपटक हेरफेर भएका छन् । कतिपय पृष्ठ हटाइएका छन् भने केही करका दर र व्यवस्थामा परिवर्तन गरिएको छ । राजपत्रमा सूचित आदेश प्रकाशित नभएको अवस्थामा यस्ता संशोधन हुनु झन् शंकास्पद देखिन्छ । विद्युत्मा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट)सम्बन्धी व्यवस्था यसको एउटा उदाहरण हो । सुरुमा एउटा व्यवस्था सार्वजनिक गरियो, पछि हेरफेर गरियो । तर, अहिले पनि ५० युनिटभन्दा माथिको विद्युत् खपतमा कर कसरी लाग्छ भन्ने विषय स्पष्ट छैन । यस्तै, विद्युतीय सवारीसाधनको रोड ट्याक्स र पेट्रोल–डिजेलमा लाग्ने हरित करसम्बन्धी व्यवस्थामा पनि फेरबदल गरिएको छ । यी परिवर्तन संसद् वा औपचारिक सूचनामार्फत नभई चुपचाप गरिनुले सन्देह पैदा गरेको छ ।
करसम्बन्धी व्यवस्था सामान्य प्रशासनिक निर्णय मात्र होइन । यसको प्रत्यक्ष असर आमनागरिक, व्यवसायी र समग्र अर्थतन्त्रसम्म पर्छ । त्यसैले करका दरमा हुने कुनै पनि परिवर्तन कानुनी प्रक्रिया पूरा गरेर, सार्वजनिक जानकारी गराएर र पारदर्शी रूपमा हुनुपर्छ । अन्यथा, सीमित स्वार्थ समूहको प्रभावमा निर्णय भएको आशंका गर्ने ठाउँ रहन्छ । एउटै आर्थिक वर्षका तीन–तीनवटा आर्थिक विधेयकजस्ता दस्तावेज देखिनुले त्यही नकारात्मक सन्देश दिएको छ ।
त्यसो त, अर्थमन्त्री डा.वाग्लेले प्रतिशत, रुपैयाँलगायत सामान्य त्रुटि भेटिएपछि सच्याइएको प्रस्टीकरण दिएका छन् । तर, विधेयकको आकार नै घट्नेगरी गरिएको फेरबदलले उनले दाबीलाई पुष्टि गर्दैन । बजेट आर्थिक दस्तावेज त हो नै, राज्यको आर्थिक नीति र विश्वसनीयताको मूल आधार पनि हो । त्यसैले आर्थिक विधेयकमा भएको हेरफेरबारे सरकारले तत्काल जवाफ दिनुपर्छ । कुन व्यवस्था किन परिवर्तन गरियो ? कसको निर्णयमा गरियो र कानुनी आधार के हो भन्ने विषय सार्वजनिक हुनुपर्छ । अन्यथा, कर प्रणालीमाथिको विश्वास कमजोर हुनेछ । त्योभन्दा धेरै आर्थिक अपचलन र चलखेलको आशंकाले सरकारप्रति प्रश्न उठिरहनेछ ।