२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

फिलिपिन्सको भूकम्पमा ज्यान गुमाउने संख्या ४५ पुग्यो, १७ जना अझै सम्पर्कविहीन

Nada
२०८३ जेठ २७ गते १२:४१
Shares
फिलिपिन्सको भूकम्पमा ज्यान गुमाउने संख्या ४५ पुग्यो, १७ जना अझै सम्पर्कविहीन

काठमाडौँ : फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओ आसपास केन्द्रित शक्तिशाली भूकम्पपछि ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार घटनामा ४ सय ८७ जना घाइते भएका छन् भने १७ जनाको अवस्था अझै अज्ञात रहेको छ ।

ncell

परिषद्का अनुसार भूकम्पको असरबाट ३३ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्, जसबाट करिब एक लाख ५० हजार नागरिक प्रत्यक्ष रूपमा असरमा परेका छन् । स्वास्थ्य संस्था, शैक्षिक भवन तथा पुलसहित २ सय ३८ वटा पूर्वाधारमा विभिन्न स्तरको क्षति पुगेको जनाइएको छ ।

सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पपछि मिन्डानाओका अधिकांश भूभागसँगै मध्य फिलिपिन्सका केही क्षेत्रमा समेत तीव्र कम्पन महसुस गरिएको थियो । मुख्य भूकम्पपछिका दिनहरूमा १ हजार ७ सयभन्दा बढी परकम्प रेकर्ड भइसकेका छन् । प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान निरन्तर सञ्चालन भइरहेको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

क्षतिको अवस्था हेर्दा सारंगनी र दक्षिण कोटाबातो प्रान्त सबैभन्दा बढी प्रभावित बनेका छन् । यी दुवै क्षेत्रमा करिब सात लाख जनसङ्ख्याको बसोबास रहेको बताइएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिसमोलोजीका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७:३७ बजे भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु मिन्डानाओ टापुको सारंगनी प्रान्तस्थित मासिम सहरको तटबाट करिब ३२ किलोमिटर दक्षिणपश्चिममा, जमिनको सतहबाट ३३ किलोमिटर गहिराइमा रहेको थियो ।

सम्बन्धित खबर