२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सी जिनपिङ र किम जोङ उनबीच रणनीतिक समझदारी

Nada
२०८३ जेठ २७ गते १५:४८
Shares
सी जिनपिङ र किम जोङ उनबीच रणनीतिक समझदारी

काठमाडौँ : चीनका राष्ट्रपति सी जिनपिङ र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बीच क्षेत्रीय तथा विश्वव्यापी शान्ति प्रवर्द्धनलाई केन्द्रमा राख्दै महत्त्वपूर्ण समझदारी बनेको छ। दुवै नेताले द्विपक्षीय सम्बन्ध सुदृढ गर्दै शान्ति र स्थायित्वका लागि सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ncell

दुई दिने राजकीय भ्रमण पूरा गरी चीन फर्किएपछि राष्ट्रपति सीले पठाएको धन्यवाद सन्देशलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले बुधबार उक्त जानकारी सार्वजनिक गरेको हो ।

सन्देशमा दुई नेताबीच साझा चासोका विषयमा विस्तृत विचार–विमर्श भएको उल्लेख गरिएको छ । साथै, दीर्घकालीन र आपसी हितका आधारमा सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने सहमति बनेको जनाइएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वा समाचार एजेन्सी का अनुसार यो भ्रमणले दुई देशबीचको रणनीतिक समझदारीलाई थप गहिरो बनाएको छ र भविष्यको सहकार्यका लागि स्पष्ट मार्गचित्र तय गरेको छ ।

समझदारीअनुसार चीन र उत्तर कोरियाले राजनीतिक, आर्थिक, व्यापारिक तथा सांस्कृतिक क्षेत्रमा सहकार्य विस्तार गर्ने भएका छन् । सरकार-सरकारबीच नियमित रणनीतिक संवाद कायम राख्ने विषयमा पनि सहमति भएको छ। कृषि, प्रविधि र पूर्वाधार निर्माणजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर व्यावहारिक सहकार्य अघि बढाइने उल्लेख छ ।

त्यस्तै, दुवै पक्षले सीमा नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउने, नागरिक उड्डयन सेवा तथा अन्तरदेशीय यात्रुवाहक रेल सेवा पुनः सञ्चालन गर्ने विषयमा पनि जोड दिएका छन् ।

यसैबीच, कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार भ्रमणका क्रममा दुवै नेताले प्योङयाङस्थित ‘चीन-उत्तर कोरिया मैत्री टावर’ मा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । यो स्मारक कोरियाली युद्धमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूको सम्मानमा निर्माण गरिएको हो ।

उनीहरूले पार्टी कार्यकर्ताहरूका लागि सञ्चालनमा रहेको राजनीतिक प्रशिक्षण विद्यालयको पनि अवलोकन गरेका थिए । उक्त भ्रमणलाई दुई देशबीचको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक सहकार्य अझ मजबुत बनाउने प्रयासका रूपमा लिइएको छ ।
 

सम्बन्धित खबर