
दोहा, कतार : कतारको रक्षा मन्त्रालयले राष्ट्रिय सेवा कार्यक्रममा सहभागी हुन पाउने मापदण्ड संशोधन गर्दै कतारी आमाबाट जन्मिएका सन्तान तथा कतारमै जन्मिएका गैरकतारी आवासीय नागरिकलाई पनि कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरेको छ । मन्त्रालयका अनुसार कार्यक्रममा सहभागी हुन चाहने आवेदक कतारमै जन्मिएको, कम्तीमा १८ वर्ष उमेर पूरा गरेको तथा वैध आवासीय अनुमति (रेसिडेन्सी परमिट) वाहक हुनुपर्नेछ ।
आवेदकको आचरण र प्रतिष्ठा राम्रो हुनुपर्ने, कुनै फौजदारी वा नैतिक पतन हुने अभियोगमा सजाय नपाएको अथवा पुनर्स्थापित भएको हुनुपर्ने तथा यसअघि कुनै सेवाबाट बर्खास्त नगरिएको हुन नहुने व्यवस्था गरिएको छ । साथै शारीरिक रूपमा स्वस्थ भई भर्ना प्रक्रियाअन्तर्गतको अन्तर्वार्तामा उत्तीर्ण हुनुपर्ने मन्त्रालयले जनाएको छ । राष्ट्रिय सेवा अवधि अधिकतम पाँच वर्षसम्म रहने जनाइएको छ । कार्यक्रममा सहभागी हुनेहरूले मासिक सात हजार कतारी रियालसम्म आर्थिक प्रोत्साहन भत्ता प्राप्त गर्नेछन् । सेवा अवधि सफलतापूर्वक पूरा गर्ने सहभागीलाई कतारको सशस्त्र बलमा भर्तीका लागि प्राथमिकता दिइने तथा स्थायी आवासीय अनुमति प्राप्त गर्ने प्रक्रियामा समेत विशेष प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।
इच्छुक आवेदकले रक्षा मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत ‘रिक्रुटमेन्ट’ विकल्प प्रयोग गरी अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । आवेदनका साथ कतारी परिचयपत्रको प्रतिलिपि, वैध राहदानीको प्रतिलिपि तथा कतारमा जन्मिएको जन्म दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । कतारी आमाका सन्तानका हकमा आमाको राहदानी र जन्म दर्ताको प्रतिलिपि समेत अनिवार्य कागजातका रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । कतारको नागरिकता कानुन अनुसार नागरिकता सामान्यतया पितामार्फत सन्तानमा हस्तान्तरण हुने व्यवस्था छ । कतारी आमा र गैर-कतारी बुबाबाट जन्मिएका सन्तानले स्वतः कतारी नागरिकता प्राप्त गर्दैनन् ।
तथापि यस्ता सन्तानलाई स्थायी बसोबास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका केही क्षेत्रमा विशेष प्राथमिकता प्रदान गर्ने नीति कतार सरकारले अवलम्बन गर्दै आएको छ । राष्ट्रिय सेवा कार्यक्रममा उनीहरूको सहभागितालाई कतारले सामाजिक समावेशीकरण र योग्य युवालाई राष्ट्रिय मूलधारमा आबद्ध गराउने दिशामा चालेको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।