–म्याक्सिम गोर्की
समुद्रको निर्मल सतहमाथि
हावाको झोंकामा
थुपिँ्रदै छ कालो बादल
बादल र समुद्रको बीच
चक्कर लाउँदै छ तुफानी पित्रेल चरी
छाती फुका’र निर्धक्क भएर
चट्याङ पर्दा देखिने विद्युत रेखा जस्तै
कहिले अन्धकार छिचोल्दै
यति तल डुबुल्की मार्छ
उसका पखेटा जल तरंग छुन पुग्छन्
कहिले तीर जस्तो भएर बादलको छाती छेड्छ
र रणघोष गर्दै उड्छ माथि माथि
बादल उसको साहसी हुङ्कारमा
देख्छ स्वयम् तुफानको झलक
उसको चित्कारमा प्रतिध्वनित हुन्छ
तुफानसँग पौठेजोरी खेल्ने हाँक
त्यसमा ध्वनित हुन्छ
उसको आवेग, प्रचण्ड क्षोभ
अनि विजयमा उसको अडिग विश्वास
सि गलहरु भयमा बिलखवन्द छन् तुफानले
चित्कारछन् पानीको सतहमा
हुईकिन्छन् उछिन् पाछिन् गर्दै तीर जस्तै
अनि डुबुल्की मार्छन् सुरक्षित हुन
भित्र कतै समुद्रको गहराईमा
बिलखवन्दमा छन् पानी हाँसहरु
संघर्षको संज्ञाहीन चरम आनन्द
तिनलाई के थाहा ?
सातो जान्छ तिनको
फगत मुड्कामुड्कीको आवाज सुने मात्र पनि
बुद्ध पेंगुइनहरु
लाजले भुतुक्क हुँदै चट्टानका काँप तिर
आफ्नो धम्मरधुस्स शरीर लिएर लुक्छन् लुसुक्क
जब कि एक्लो तुफानी पित्रेल चरी
उगेल्दै गरेको फिंजसँगै सामुद्रिक लहरमा
शयर गर्छ निर्भिक निस्फिक्री भएर
अझ कालोनिलो हुँदै बादल झर्दैछ तल तल
समुद्रको छाती माथि
लहरहरु सुरिलो भाका हाल्दै छन्
र उछिना पाछिन गर्दै छन् मानौं चट्याङ चुम्छु भनेर
चट्याङ गर्जिन्छ चित्कार्छन् फिंज उगेल्दै ज्वारभाटाहरु
लाप्पा खेल्छन् हावाका झोंकाहरु
तुफानी बादल
जमा हुँदै छ समुद्र सतहमा घेरिदै
चट्याङ गर्जिन्छ, बिजुली चम्किन्छ
अब समुद्रका ज्वारभाटा
हावाका झोंका भन्दा के कम ?
उता हावाको झोंका आफ्नै सनकमा
धृतराष्ट्रको आलिङ्गनमा अठ्याएर
पानीको मुस्लोलाई
पर कतै चट्टानमा बजारी दिन्छ
पाहा पछारे झैं
विचरा हुन्छन् छताछुल्ल
तुफानी पित्रेल चरी रणघोष गर्दै उडान भर्दै छ
बिजुली चम्किदा रश्मि चिरे झैं गरेर
तिरले जस्तो तुफानी बादल चिरेर
तेजिलो धारले पानी काटे झैं गरेर
उ दैत्यले जस्तो
क्रुद्ध इन्द्रलाई ललकार्दै
कहिले अट्टाहास हाँसो हाँस्छ,
कहिले धुरु धुरु रुन्छ
जब बादल माथि बुर्कुसी मार्छ
तब गललल... हाँस्न पुग्छ
अनि खुशीका मारे आँशु झार्छ
चट्टयाङको क्रोधाग्निमा चतुर दैत्य
उसको मर्मस्थलको भेउ पाउँछ
उ ढुक्क छ, बादलको के सामथ्र्य घाम लुकाउने ?
बित्थाको ताउरमाउर !
हावाको तेजतर्राट सुनिन्छ ...चट्यांग गर्जिन्छ, बिजुली चम्किन्छ
सपाट, विस्तृत समुद्र माथि
तुफानी बादलबाट झरेका
बिजुलीका धर्साहरु
समुद्र समातेर चिसो पानीमा चोबल्छ
तिनका नागबेली प्रतिबिम्बहरु
थुर थुर काम्दै र झ्याप झ्याप निभ्दै
भित्र समुद्र गर्भमा लिन हुन्छन्
तुफान ! निमेष भरमा तुफान जाई लाग्ने छ
फेरि पनि तुफानी पित्रेल चरी छाति तन्काउदै
चट्याङको बीचोबीच हुँदै
रण घोष गर्दै, हुँकार्दै उडान भर्दै छ
र उसको रणघोषमा
चरम आनन्दको प्रतिध्वनी छ
विजयको भविष्यवाणी जस्तै
‘आऊ तुफान, कम्मर कसेर आऊ !’
(भावानुवाद : टंक कार्की )
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies