२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

जो ९ महिनादेखि अस्पतालमै छन्

‘सुरुमा सरकारका प्रतिनिधि भन्दै आउनुभयो, फोटो–भिडियो खिच्नुभयो, प्रचार गर्नुभयो । सुरुमा ट्रमा सेन्टरमा र पछिल्लो सात महिनादेखि काठमाडौं मेडिकल कलेजमा छौं । सरकारको तर्फबाट हामीलाई भेट्न कोही पनि आउनुभएको छैन । सायद हामी कहाँ छौं भन्ने सरकारलाई जानकारी नै छैन ।’

Nada
सपना बोहरा
२०८३ असार ५ गते ०६:३०
Shares
जो ९ महिनादेखि अस्पतालमै छन्

काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका सिन्धुपाल्चोकका ३३ वर्षीय दौलभ थापा यतिबेला जीवन र मृत्युको संघर्षमा छन् । काठमाडौं मेडिकल कलेजको मेडिसिन वार्डको एक कुनामा रहेको बेड नम्बर १४३मा दौलभ अझै अचेत अवस्थामा छन् ।

ncell

थापाकी श्रीमती यमकला ठकुरी बेला–बेला श्रीमान् लाई उठाउने प्रयास गर्छिन् । शरीरबाट कुनै प्रतिक्रिया आउँदैन । उनी बोलाउँछिन्, तर कुनै उत्तर पाइँदैन । शरीर हल्लाउँछिन्, तर कुनै हलचल हुँदैन । यसरी श्रीमान्लाई उठाउने प्रयास गरेको नौ महिना बितिसकेको छ । तर, उनले आशा भने अझै त्यागेकी छैनन् । 

घाइते थापाको नाकमा अक्सिजनको पाइप छ, घाँटीबाट तरल पदार्थ खुवाउन अर्को पाइप राखिएको छ । टाउकोमा गहिरो चोट लागेको छ र उपचारका क्रममा टाउकाको दाहिने भागको हड्डी निकालिएको छ ।

नयाँ बानेश्वरमा आन्दोलनका क्रममा भएको प्रहरी लाठीचार्जमा उनी गम्भीर घाइते भएका थिए । यसबीच देशमा दुई–दुई वटा सरकार बनिसके । जेनजीकै प्रतिनिधित्व गर्ने दाबी गरिएको दुईतिहाइको सरकार पनि आयो । तर, आन्दोलनमा घाइते भई मृत्यु र आर्थिक अभावसँग संघर्ष गरिरहेका घाइतेहरू अझै अस्पतालमै छन् भन्ने कुरामा सरकार बेखबरजस्तै देखिन्छ ।

यमकलाका अनुसार अस्पताल भर्ना भएपछि तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल घाइते थापालाई भेट्न आएका थिए । वर्तमान गृहमन्त्री सुदन गुरुङले पनि राजीनामा दिनुअघि उनलाई भेटेका थिए । सांसद आसिका तामाङ पनि अस्पताल पुगेकी थिइन् । तर, तीन–चार महिनायता कोही पनि भेट्न नआएको यमकलाको गुनासो छ । 

उनका अनुसार, घाइतेहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्ने, माग सम्बोधन गर्ने र निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । दोस्रोपटक गृहमन्त्री बनेपछि पनि गुरुङले जेनजी आन्दोलनका केही नेतृत्वकर्तासँग भेटघाट गरे, माइतीघर पुगेर पीडितहरूसँग कुरा गरे र न्याय दिलाउने आश्वासन दिए । तर, अस्पतालमा मृत्युसँग संघर्ष गरिरहेका दौलभलाई भेट्न भने कोही पुगेनन् ।

‘सायद सरकारलाई हामी कहाँ छौं भन्ने जानकारी नै छैन । सुरुमा ट्रमा सेन्टरमा र पछिल्लो सात महिनादेखि काठमाडौं मेडिकल कलेजमा छौं,’ यमकलाले भनिन्, ‘त्यसयता सरकारको तर्फबाट हामीलाई भेट्न कोही पनि आउनुभएको छैन ।’

बरु, जेनजी आन्दोलनका अन्य घाइतेहरूले आफैं पैसा उठाएर भेट्न आउने गरेको उनी बताउँछिन् । हाल उपचारको मुख्य खर्च काठमाडौं मेडिकल कलेजले व्यहोरेको छ । तर औषधि र खानामा दैनिक करिब ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको उनको भनाइ छ ।

घाइते भएपछि सुरुमा उनलाई भक्तपुरको मध्यपुर अस्पताल लगिएको थियो । त्यहाँ उपचारका क्रममा अप्रिय अनुभव भोग्नुपरेको यमकला सम्झिन्छिन् । ‘त्यहाँका डाक्टरले प्रहरीको गोली लागेको भिडियो वा प्रमाण ल्याए मात्रै निःशुल्क उपचार हुन्छ भन्नुभयो,’ उनले भनिन्, ‘त्यो बेला भिडियो खोज्ने कि बिरामी बचाउने ? भएका थोरै सुन बेच्यौं, आफन्तसँग ऋण लिएर उपचार गरायौं ।’

उपचार यति लामो समयसम्म चल्ने र यति धेरै खर्च हुने उनले कल्पना गरेकी थिइनन् । प्रारम्भिक उपचारमै करिब १३ लाख ५० हजार रुपैयाँ खर्च भएको थियो । त्यसपछि ट्रमा सेन्टरमा उपचार गराउँदा जेनजी कार्ड नबनेकाले थप करिब एक लाख रुपैयाँ खर्च भयो । हालसम्म कुल उपचार खर्च १८ लाख रुपैयाँभन्दा बढी पुगिसकेको छ ।

‘सुरुमा लागेको १३ लाख ५० हजार रुपैयाँको खर्च सरकारले व्यवस्थापन गरिदिए धेरै राहत मिल्थ्यो,’ उनले भनिन् ।

यमकलाका अनुसार सांसद आसिका तामाङले ट्रमा सेन्टरमा उपचार भइरहेका बेला ५० हजार रुपैयाँ सहयोग गरेकी थिइन् । सरकारबाट मासिक १८ हजार रुपैयाँ उपलब्ध हुँदै आएको छ । ‘त्यो १८ हजार रुपैयाँ त एक दिनको खर्चका लागि पनि पर्याप्त हुँदैन,’ उनले भनिन् ।

परिवारको मुख्य कमाउने व्यक्ति १० महिनादेखि अस्पतालमा हुँदा परिवार ठुलो संकटमा परेको छ । घरमा दुई सन्तान, वृद्ध आमाबुबा र भाइ छन् । ‘सासु–ससुरा वृद्ध हुनुहुन्छ । उहाँहरूले केही गर्न सक्नुहुन्न,’ उनले भनिन्, ‘म बिरामीको हेरचाह गरूँ कि सरकारका कार्यालय धाऊँ ?’

सरकारलाई अवस्था थाहा हुँदाहुँदै पनि बेवास्ता गरिएको उनको गुनासो छ । ‘सुरुमा सरकारका प्रतिनिधि भन्दै आउनुभयो, फोटो–भिडियो खिच्नुभयो, प्रचार गर्नुभयो । अहिले श्रीमान् मृत्युसँग संघर्ष गरिरहनुभएको छ । मलाई खर्च व्यवस्थापन गर्न गाह्रो भइरहेको छ । म सरकार खोज्दै हिँडूँ कि बिरामीको हेरचाह गरूँ ?’ उनले प्रश्न गरिन् ।

काठमाडौं मेडिकल कलेजमा भर्ना भएको सात महिना पुगिसकेको छ । स्वास्थ्यमा सुधार हुने–नहुने अझै निश्चित छैन । तर यमकलाले आशा भने छोडेकी छैनन् । ‘यदि सरकारले बिरामी राख्न बेड, अक्सिजन सिलिन्डर, बाफ लिने मेसिन र आकस्मिक उपचारका लागि आवश्यक सुविधा उपलब्ध गराइदिएको भए धेरै सहज हुन्थ्यो,’ उनले भनिन् ।

हाल उनी भक्तपुरमा भाडाको कोठामा बस्दै आएकी छिन् । तर घर लैजाने अवस्था पनि छैन । बिरामी राख्न छुट्टै कोठा छैन, आवश्यक स्वास्थ्य सामग्री छैन । अस्पतालले पनि घर लैजान सुझाव दिन थालेको छ । ‘अब सुधार हुन्छ कि हुँदैन, त्यो भगवान् भरोसामै छ,’ उनले भनिन् ।

जेनजी आन्दोलनका घाइतेहरूको अवस्थाबारे खोजी गर्ने क्रममा मध्यान्ह टोलीले थापालाई काठमाडौं मेडिकल कलेजमा उपचाररत अवस्थामा भेटेको हो । अस्पतालको शय्यामा जीवनका लागि संघर्ष गरिरहेका दौलभ थापाको अवस्थाबारे सरकार लगभग बेखबर देखिन्छ ।

ताजा खबर

सम्बन्धित खबर