–लेखराज रेग्मी
राजनीतिका विभिन्न कालखण्डमा उठ्ने गरेका विभिन्न नाराहरु र तिनको औचित्य के रह्यो भन्नेबारे कमै मूूल्यांकन हुने गरेका छन् । पुष्पलाल श्रेष्ठले निर्धारण गरेको ‘नौलो जनवाद’ ६ दशक पछि पनि नेपाली कम्युनिष्टहरुले छोड्न सकेका छैनन् । अन्तरिम सरकारको रूपमा हामीले देशभक्त जनतान्त्रिक शक्तिको सरकारको नारा संकुचित अर्थमा ग्रहण गर्यौं, बिरोध गर्यौं र छोड्यौं पनि । अन्तरिम वा संयुक्त सरकार बन्दा सधैँ हामीमा कार्यक्रमीक हिसाबले दायाँ वा बायाँ भडकावहरु देखापरिरहे । बायाँ भड्कावले तात्कालिक ठोस उपलब्धिहरुको अवमूल्यन गर्ने र सही कार्यनीति अख्तियार गर्न नसकेका कारण तथा दायाँ भडकावले आन्दोलनमा उठेको जनताको तागत र प्रतिक्रियावादीहरुको अवस्थाको सही आकंलन गर्न नसकेका कारण करिब–करिब आत्मसमर्पणकै स्तरमा सम्झौता गर्न पुगेका कारणले आन्दोलनले घाटा व्यहोरेका घटनाक्रम इतिहासमा पटक–पटक दर्ज भएका छन् ।
नारा तय गर्दा ख्याल राख्नुपर्ने तीन वटा महत्वपूर्ण सवालमा स्पष्टताको आवश्यकता हुने रहेछ । १) आन्दोलनको दिर्घकालिन चरित्र र आधारभूत एजेण्डा, बाहक शक्तिको वर्गचरित्र र नेतृत्वको प्रश्न । २) तात्कालिक स्थिति, प्राथमिक एजेण्डा र अस्थाई (तात्कालिक) शक्ति सन्तुलन र मिल्नसक्ने (मोर्चा बनाउन सकिने) राजनैतिक शक्तिहरुको सही पहिचान तथा आन्दोलनको आधारभूत शक्तिको तात्कालिक चेतना र नेतृत्वको भूमिकाबारे स्पष्टता । ३) दुवै स्थितिमा सुस्पष्ट दृष्टिकोण आचरण र समर्पणले पैदा गरेको जनविश्वास र जनताको सचेत सहभागिता । हामीले यी तीन सवालमा मूल्यांकन र निर्धारण क्षमता प्राप्त गर्न सक्नुपर्दो रहेछ । सायद यसैलाई प्रतिनिधित्व गर्दै निर्मल लामाले पटक–पटक “देश र जनताको लागि म एकपटक होइन हजार पटक दक्षिणपन्थी बन्न (भनाउन) तयार छु” भन्नुभएको होला । तर, आज आचरण र संस्कृतिको मात्र होइन कार्यक्रम र एजेण्डामा प्रतिक्रियावादी बनिसकेकाहरु लामालाई दक्षिणपन्थी भन्नमा गौरव महसुस गर्दछन् ।
नौलो जनवाद नेपाली क्रान्तिको कार्यक्रम बन्न नसक्ने स्थितिमा परिवर्तन आएको छ । आज राष्ट्रिय पुुँजीपति वर्ग उपलब्ध छैन र सबै पुँजीपतिहरु विश्व पुँजीवादी व्यवस्थाका जुनियर बुर्जुवा पार्टनर बनिरहेका छन् । बहुराष्ट्रिय औद्योगिक वा वित्तीय संस्थाहरु बैंकहरु र खुला बजार अर्थतन्त्र यसले पैदा गरेको सहजोड प्रणालीहरुले पुँजीवादी क्रान्तिको नारालाई यथास्थिति वादमा बदलिदिएका छन् । यसरी पुुँजीवादी र नयाँ खाले पुुँजीवादी राजनैतिक क्रान्तिको ठाउँमा समाजवादलाई न्यूनतम कार्यक्रममा फेरिदिएको छ । त्यसैलाई मध्यनजर गर्दै बुर्जुवा राजनैतिक शक्तिहरु समाजवाद उन्मुखताको सुधारवादी नारामा प्रवेश गरिसकेका छन् र समाजवादलाई कार्यक्रमबाट कटेको फगत निर्जिव नारामा तबिदल गर्न प्रयासरत छन् । यसरी हामी पनि समाजवादी क्रान्तिको चरणमा चाहेर वा नचाहेर प्रवेश गरेका छौं । तर, हामीसँग समाजवादी क्रान्तिको कार्यक्रम रणनीति कार्यनीति र दिशानिर्देश तय भैरहेको छैन । नेपाली कम्युनिष्ट आन्दोलनको यो दुरावस्थाको अन्त्य हाम्रो प्राथमिक राजनैतिक कार्यभार बनेको छ ।
यतिबेला नेपाली राजनीतिमा संविधान वादको बहस चलिरहेको छ । आन्दोलन पछि जारी संविधानले आन्दोलनको प्रतिनिधित्व गर्दछ । यो बुर्जुवा व्यवस्थाको संविधान हो र आन्दोलन सम्झौता र संविधान सभामा भएका संघर्षको पनि एकहदसम्म यसले प्रतिनिधित्व गर्दछ । त्यसैले पश्चगामी खतराबाट जोगाउँदै आन्दोलनका उपलब्धिहरुको रक्षाको हदसम्म जनताको लागि संविधान आवश्यक छ र अग्रगमनको आन्दोलनको ल्याकत र एजेण्डाहरु अगाडि बढाउन प्रचार तथा संगठनका कतिपय कामहरुमा यसको सिमित उपयोग सम्भव छ । तर, जब जनता अग्रगमनको लागि मुठभेडको लागि तयार हुन्छ र साना ठूला संघर्ष हुन थाल्छन् यो संविधान अवरोध बन्दछ ।
हामीहरु यसरी निर्धारित नाराहरुबारे सुस्पष्ट धारणा बनाउन नसक्दा यसलाई ठीक ढंगले विकास गर्न सकिरहेका छैनौ । यो दृष्टिकोण सम्बन्धित समस्याको निदान बिना आन्दोलन अगाडि बढ्दैन । तर एक पटक एउटा सबालमा हल भएर पुग्दैन र यो निरन्तरको आवश्यक प्रक्रिया हो । यसको पूर्वसर्तमा आधारभूत रूपमा दृष्टिकोण स्थापित हुन आवश्यक हुँदोरहेछ । यसरी हामी तार्किक तथा सान्दर्भिकताका आधारमा नारा (एजेण्डा) तर, गर्न, मर्म र सीमा बुझ्न तथा कार्यान्वयनमा भार सम्प्रेषण गर्न र उपलब्धी हासिल गर्न संस्थागत गर्न र आन्दोलनको अग्रगामितालाई जोगाउन सक्षम हुनेछौं ।
नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा प्रचलित बहस चल्यो, निर्वाचनमा भाग लिँदा कार्यकर्तामा बिचलन पैदा हुन्छ । त्यस्तैगरी चुनावमा भाग लिने पार्टी कम्युनिष्ट पार्टी हुँदैन । यही निष्कर्षसहित २०३८ र २०४२ का आमचुनावमा कम्युनिष्ट पार्टीहरुले भाग लिएनन् । तर, २०३९ को चुनावमा प्रधानपञ्च बनाइएका बर्मन आजीवन वेदाग क्रान्तिकारी रहे । शिवराज गौतम पटक–पटक पञ्चायती चुनावमा भाग लिए, प्रधानपञ्च र माननीय पनि बने तर, मृत्युपर्यन्त कम्युनिष्ट आन्दोलनमा कायम रहे । रूपचन्द्र बिष्ट प्रधानपञ्च र रा.पं.स. चुनाव जिते तर, सधैँ प्रतिक्रियावादी चिन्तनधारासँग सम्झौताहिन संघर्षमा टिकिरहे । पञ्चायती चुनाव लडेका निर्मल लामा पार्टीकोे तेश्रो महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य थिए चौथो महाधिवेशनको वरिष्ठ नेता पछि महामन्त्री तथा आज पनि कम्युनिष्ट आन्दोलनका लोकप्रीय र आदर्श नेता मानिन्छ र उनी प्रेरणाका श्रोत पनि हुन । चुनावमा भाग लिएर वा चुनाव जितेर कम्युनिष्टहरु बिग्रिँदैनन् भन्ने यी केही उदाहरण हुन् । निर्वाचन बहिस्कार गरेका र बहिस्कारको पक्षमा सशक्त प्रतिवाद गरेकाहरु पनि पतन भएका र प्रतिक्रियावादीसँग मिलेका धेरै उदाहरण छन् ।
नेकपा एकता केन्द्रले २०४८ को चुनावमा भाग लिन थालेपछि पार्टीले गलत गरेको टिप्पणी गरिरहेकाहरुको यति ठूलो संख्याले चुनावमा टिकटको लागि माथापच्छि गर्यो कि रूपलाल र प्रचण्डलाई टिकट व्यवस्थापन गर्न नै हम्मे हम्मे पर्यो तर, चुनावमा भाग लिन बहस गरिरहेका पूर्व चौमभित्र यो समस्या आएन नै भन्नुपर्छ । बहिष्कारले क्रान्तिकारी वनाउथ्यो भने यसको बिपरित हुनुपथ्र्यो । तर, भयोे चुनाव उपयोगको बिरोध गर्ने र टिकटको लागि मरिहत्ते गर्नेहरु उनै व्यक्तिहरु रहे । वास्तवमा चुनावमा जाने वा नजाने र बहिष्कार गर्ने र नगर्ने कुरा राजनैतिक परिस्थितिका आधारमा टुङ्गाइने कार्यनैतिक नारा हो । परिस्थितिबारे फरक समझदारीका आधारमा चुनावमा जाने वा बहिष्कार गर्ने सवालमा बहस हुनुपर्ने थियो । यसलाई सिद्धान्तको विषय बनाइनु गलत थियो । यो नारासम्बन्धी एउटा भ्रान्त धारणा नै थियो ।
यस्तै, २००७ सालको आन्दोलनबारे पनि नेपाली ंराजनैतिक आन्दोलनमा लामो कालसम्म भ्रान्त धारणा कायम रह्यो । यो फगत राजनैतिक घटना मात्र हो वा यो पूर्ण सफल क्रान्ति थियो बहस यसरी नै गलत ढंगले चल्यो । राणा प्राइमिनिष्टरकै नेतृत्वमा कांग्रेस सम्मिलित सरकार बन्नु र सेरेमोनियल राजतन्त्र सकृय राजतन्त्रमा बदलिनुले पूर्ण सफलतालाई प्रतिनिधित्व गर्दैन तर, राजनैतिकरूपमा राणातन्त्र पराजित भएको र १०४ वर्षको जहानियाँ शासनको अन्त्य हुनु राजनैतिक उपलब्धी नै थियो । यसरी यो फगत षड्यन्त्र वा राजनैतिक घटना मात्र थिएन ।
यस्तै २०४६ को आन्दोलनले राजाको निरंकुशताको अन्त्य गर्यो तर, यसले पूर्णतया बुर्जुवा प्रजातन्त्र स्थापित गरेन । एकातिर उपलब्धिको अवमूल्यन गरियो र धोका भनियो भने अर्कोतिर दुनियाँ कै उत्कृष्ट व्यवस्था भएको वकालत गरियो, दुवै भ्रम थिए र टिकेनन् पनि । तर, त्यस्को धङधङी आज पनि छ । आज पनि गणतन्त्र उपलब्ध हुनुलाई इन्कार गर्ने र उपलब्धिलाई बेवारिस बनाउने गलत ट्रेण्ड देखापर्ने गर्छ भने अर्कोतिर २०४७ को संविधानको पुनस्र्थापनाको आवाज पनि उठिरहन्छ । यी दुई बाहेक तेश्रो भ्रान्त धारणा छ राजनैतिक क्रान्तिको काम पुरा भयो भन्ने ।
यी मोटा भ्रान्त अवधारणाहरु हुन् । माक्र्सवादले विषयलाई यसरी हेर्ने दृष्टिकोणलाई यात जडसुत्रिय, यान्त्रिक वा बिसर्जनवादी संसोधनवादी ठहर गरेको अन्तरराष्ट्रिय शिक्षा हामीसँग छ । उपलब्धिको रक्षा र निरन्तरको अग्रगामी कार्यदिशा नै माक्र्सवाद हो र यसको निक्र्योल हाम्रा भावना र चाहनाले होइन शक्ति सन्तुलन जनसहभागिता र सामाजिक आवश्यकताले मात्र गर्ने गर्दछ ।
आज राष्ट्रवादलाई जोडेर एमसीसी, एसपीपी, नागरिकता विधेयक जस्ता मुद्दामा आन्दोलन चलिरहेको छ । संसद र संविधानलाई नछोइकन यस्ता धेरै सम्झौता भइरहेका छन्, यसबारे देश र जनता कतिपय सवालमा सुसुचित नै छैनन् । सामान्य बिरोध र समर्थन देखिए पनि यो स्तरको सवेदनशीलता अन्य सवालमा देखापर्दैन । देशको सम्प्रभुता र संविधान बन्धकीमा पर्ने बाहेकका धेरै अपमानजनक सन्धिहरुबारे सामान्य विरोध र आलोचना मात्र भएको पाइन्छ । तर, यो सवल किन आन्दोलनको विषय भैरहेको छ । तात्कालिक ठोस कार्यनीतिक चरित्र फेरिएर यो संघर्ष दिर्घकालिन रणनैतिक लडाईंमा बदलिन पनि सक्नेछ, यो गम्भीर सवाल हो ।
लेनिनले जर्मनसँग अत्यन्त अपमानजनक ब्रेष्टको सन्धी गरेर रुसलाई बचाए र एकवर्ष पछि नै सन्धी तोडेर जर्मनीलाई पराजित गर्ने सामथ्र्य पैदा गरे । माओले जापान विरोधी आन्दोलनमा अमेरिकालाई न्युट्रल राखेर च्याङकाई सेकसँग मोर्चा बनाए । दुई वर्षमा जापान पराजित भयोे । फेरि गृहयुद्ध लडियो र चीन मुक्त र स्वतन्त्र भयोे । हाम्रो कुनै पनि सत्ता यसका लागि भरपर्न सकिने अवस्थामा छैन । लेनिन र माओको नेतृत्वको समतुल्य विश्वसनीयता यहाँ देखिँदैन । यो पनि हाम्रो प्रतिकुलता हो । स्वयम् संसद र सांसदहरुले तथा उनीहरुका राजनैतिक नेतृत्वहरुले जनताको विश्वास प्राप्त गर्न सकेको स्थिती छैन । यो नै सबैभन्दा ठूलो चुनौती हो हाम्रो लागि । यस्तो अवस्थामा हाम्रोबिचमा आउने कुनै पनि भ्रान्तिहरु आत्मघाती हुनेछन् । त्यसैले एमसीसी जस्ता विषयमा बिरोधी अभियानसँग स्पष्ट वस्तुनिष्ठ र विषयगत गम्भीरतालाई बहन गर्न सक्ने र जनमतलाई विश्वस्त गर्न सक्ने नारा तय गर्न ढिलाई भैरहेको छ । सबै सरोकारवालाको गम्भीरता र तदारुकता आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies