२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा, २० असोजदेखि ७५३ पालिकामा पुग्ने तयारी

Nada
२०८३ असोज १४ गते १३:४८
Shares
स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा, २० असोजदेखि ७५३ पालिकामा पुग्ने तयारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै देशभर अभियान सञ्चालन गर्ने भएको छ । पार्टीका प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्यहरू २० असोजदेखि ७५३ वटै पालिकामा पुग्ने तयारीमा छन् ।

ncell

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि पार्टीले पालिका केन्द्रित अभियान सञ्चालन गर्न लागेको हो । यसअघि पनि रास्वपाले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अघि बढाउँदै तयारी तीव्र बनाएको थियो ।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको उद्देश्य नागरिकसँग प्रत्यक्ष संवाद गर्नुका साथै पार्टीको आगामी स्थानीय निर्वाचनसम्बन्धी नीति र तयारीबारे जानकारी गराउनु हो ।

उनका अनुसार अभियानका क्रममा स्थानीय तहको कामकारबाही, आगामी निर्वाचनका लागि उम्मेदवार छनोटको विधि तथा पार्टीले अघि सारेको उम्मेदवार छनोटसम्बन्धी प्रक्रियाबारे नागरिकलाई जानकारी दिइनेछ ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटमा ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ लगायतका संरचना तथा लोकतान्त्रिक छनोट प्रक्रियालाई अघि सारेको जनाएको छ । पार्टीले यसअघि उम्मेदवार छनोटका लागि छुट्टै रूपरेखा अनुमोदन गरी केन्द्रीय सदस्य तथा सांसदलाई निर्वाचनसम्बन्धी अभिमुखीकरणमा परिचालन गर्ने निर्णय गरेको थियो ।

सहमहामन्त्री डाँगीका अनुसार स्थानीय तह नागरिकको दैनिक जीवन र विकाससँग प्रत्यक्ष जोडिएको सरकार भएकाले स्थानीय नेतृत्व छनोटको प्रक्रिया र त्यसमा नागरिकको भूमिकाबारे समेत अभियानका क्रममा छलफल गरिनेछ ।

रास्वपाले आगामी स्थानीय निर्वाचनमा सक्षम र नेतृत्व लिन तयार व्यक्तिलाई उम्मेदवारका रूपमा अघि बढाउने बताउँदै आएको छ ।

अभियानका क्रममा वर्तमान सरकार गठन भएको अवधिमा संसद् र सरकारमार्फत भएका नीतिगत पहल तथा नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्थाबारे समेत जानकारी गराउने रास्वपाले जनाएको छ ।

पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लाका ७५३ वटै पालिकामा परिचालन गर्ने तयारी गरिएको छ । रास्वपाले यस अभियानलाई निर्वाचन तयारीसँगै स्थानीय तहमा नागरिक सहभागिता र जबाफदेहितासँग जोडिएको कार्यक्रमका रूपमा प्रस्तुत गरेको छ । पार्टीले स्थानीय निर्वाचनको तयारीका क्रममा संगठन विस्तार र उम्मेदवार छनोटको कामसमेत अघि बढाइरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर