
काठमाडौं : नेपाली कांग्रेसले १५औँ महाधिवेशनको निर्धारित मिति केही दिन पछाडि सार्ने तयारी गरेको छ ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरो गएर सडक तथा पुलमा क्षति पुगेपछि महाधिवेशनमा सहभागी हुन काठमाडौं आउन कठिनाइ भएको कांग्रेसले जनाएको छ । साथै, कतिपय स्थानमा क्षेत्रीय अधिवेशनसमेत प्रभावित भएकाले निर्धारित समयमा महाधिवेशन गर्न चुनौती देखिएको हो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार महाधिवेशनको मिति सार्ने विषयमा मंगलबार बिहान पार्टी बैठक बसेर छलफल हुनेछ । उनका अनुसार प्राकृतिक विपत्तिका कारण महाधिवेशनस्थलसम्म पुग्ने सडक र पुलमा क्षति पुगेको तथा विभिन्न स्थानमा अधिवेशन प्रक्रिया अघि बढाउन कठिनाइ भइरहेको छ ।
यद्यपि, महाधिवेशनको मिति परिवर्तन गर्दा उत्पन्न हुन सक्ने कानुनी जटिलताबारे पनि पार्टीले अध्ययन गरिरहेको छ। कांग्रेसले सर्वोच्च अदालतमा आफ्नो धारणा पेस गर्दा असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने उल्लेख गरेको थियो । सर्वोच्च अदालतको फैसलामा पनि सोही मिति उल्लेख भएकाले मिति परिवर्तनको कानुनी पक्षमा छलफल आवश्यक रहेको प्रवक्ता चालिसेले बताएका छन् ।
पार्टी बैठकपछि मात्र महाधिवेशनको मिति यथावत् राख्ने वा केही दिन सार्ने भन्नेबारे औपचारिक निर्णय हुने कांग्रेसले जनाएको छ ।