
दोहा : कतारमा रहेका धादिङवासी नेपालीहरूको साझा सामाजिक संस्था धादिङ सेवा समाज कतारले नवौं अधिवेशन तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । समाजले आगामी शुक्रबार बिहान ११ बजे लालीगुराँस रेस्टुरेन्टमा अधिवेशन तथा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो ।
धादिङको सामाजिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई प्रवासमा समेत जीवन्त राख्दै जिल्लावासीबिच एकता, सहकार्य र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ । गणेश हिमाल, त्रिशूली नदी, हरियाली पहाड, झरना तथा ऐतिहासिक–धार्मिक सम्पदाले समृद्ध धादिङको पहिचानलाई सांस्कृतिक प्रस्तुतिमार्फत समेत झल्काइने जनाइएको छ ।
अधिवेशनलाई लक्षित गर्दै समाजले आजीवन तथा साधारण सदस्यता खुला गरेको महासचिव रामहरि श्रेष्ठले जानकारी दिए। उनले कतारमा रहेका सम्पूर्ण धादिङेलाई समाजमा आबद्ध भई अधिवेशनमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् ।
केही समयअघि धादिङलगायत विभिन्न जिल्लामा आएको बाढी पहिरो तथा दैवी विपत्तिमा प्रवासी नेपालीहरूले देखाएको एकता र सहयोगलाई निरन्तरता दिन पनि धादिङे हरू एकजुट हुनुपर्ने समाजले जनाएको छ । आगामी दिनमा जिल्लामा आइपर्ने विपत्तिमा संस्थागत रूपमा सहकार्य र सहयोग गर्न सकिने विश्वास व्यक्त गर्दै समाजले एकता नै सामाजिक सेवाको आधार भएको बताएको छ ।
‘धादिङ सेवा समाज कतारको मूल मर्म, समाजसेवा नै हो मानवीय प्रमुख धर्म’ भन्ने भावका साथ अघि बढिरहेको समाजले अधिवेशनमार्फत नयाँ नेतृत्वसँगै आगामी कार्यदिशा तय गर्नेछ । अधिवेशनसँगै हुने विविध सांस्कृतिक कार्यक्रमले कतारमा रहेका धादिङेबिच भेटघाट, आत्मीयता र सांस्कृतिक एकताको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ ।
यसैबिच मध्यान्ह दैनिक नवौं अधिवेशन तथा सांस्कृतिक कार्यक्रमको अफिसियल मिडिया पार्टनर रहेको छ । मध्यान्ह दैनिकले कतारमा रहेका नेपाली समुदायका गतिविधि तथा जिल्लाहरूसँग जोडिएका सामाजिक सरोकारका विषयलाई समाचारमार्फत उजागर गर्दै आएको छ ।