२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा प्रकाश भण्डारीको उम्मेदवारी

Nada
प्रदीप मगर
२०८३ असोज १२ गते २१:४९
Shares
कांग्रेसको महाधिवेशन प्रतिनिधिमा प्रकाश भण्डारीको उम्मेदवारी

सल्यान : शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्।

ncell

विद्यार्थी राजनीतिबाट सुरु भएको करिब दुई दशक लामो राजनीतिक यात्रापछि स्थानीय सरकारको नेतृत्वमा पुगेका भण्डारी अहिले पार्टीको नीति र संगठन निर्माणमा थप भूमिका खोज्दै महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएका हुन्।

२०४४ वैशाख ९ गते सल्यानको साविक बरला गाविसमा जन्मिएका भण्डारीको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु भएको हो। २०६० सालमा नेविसंघ सल्यानको जिल्ला सदस्य बनेका उनी क्रमशः विद्यार्थी संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै अघि बढे। २०६३ सालमा सिआइटी कलेज इकाइ सभापति बनेका भण्डारी २०६५ सालमा प्राविधिक विद्यार्थी परिषद्को केन्द्रीय सचिव बने। त्यसपछि गृहजिल्ला फर्किएर नेविसंघ सल्यानको जिल्ला सदस्य, सहसचिव, सचिव हुँदै उपाध्यक्षको जिम्मेवारी सम्हाले।

२०६९ सालमा उनी नेविसंघ सल्यानको जिल्ला अध्यक्ष बने। विद्यार्थी राजनीतिमा बनाएको संगठनात्मक आधारलाई उनले नेपाली कांग्रेसको मूल राजनीतिमा पनि निरन्तरता दिए। २०६७ सालको १२औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बनेका भण्डारी २०७२ सालको १३औँ महाधिवेशनमा जिल्ला सदस्य निर्वाचित भए। २०७५ सालमा जिल्ला सदस्यहरूको प्रस्तावमा सचिवको जिम्मेवारी पाएका उनी २०७८ सालको १४औँ महाधिवेशनबाट पुनः जिल्ला सचिव निर्वाचित भएका थिए।

पार्टी संगठनमा सक्रिय रहँदै आएका भण्डारीको राजनीतिक जिम्मेवारी २०७९ सालको स्थानीय तह निर्वाचनपछि नयाँ चरणमा प्रवेश गर्‍यो। उनी शारदा नगरपालिकाको नगर प्रमुख निर्वाचित भए। स्थानीय सरकार सञ्चालन, नागरिकका दैनिक आवश्यकता र विकास निर्माणसँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसरले आफ्नो राजनीतिक अनुभवलाई थप फराकिलो बनाएको उनी बताउँछन्।

नगर प्रमुखको जिम्मेवारीसँगै जनताको नजिक रहेर काम गरिरहेका भण्डारी अहिले पार्टीको नीति र संगठन निर्माणमा आफ्नो अनुभव उपयोग गर्ने लक्ष्यसहित महासमिति प्रतिनिधिको उम्मेदवार बनेका हुन्। उनको अभियानको मुख्य नारा ‘युवाको नेतृत्व, कांग्रेसको भविष्य’ रहेको छ। उनी पार्टीमा नयाँ पुस्ताको सक्रियता आवश्यक भए पनि अग्रजहरूको अनुभवलाई सँगसँगै अघि बढाउनुपर्ने धारणा राख्छन्।

‘विचारमा स्पष्टता, व्यवहारमा सरलता र संगठनमा प्रतिबद्ध भए मात्रै कांग्रेसलाई एक सूत्रमा बाँध्न सकिन्छ,’ भण्डारी भन्छन्, ‘अग्रजहरूको अनुभवलाई आत्मसात् गर्दै युवाको ऊर्जा र नेतृत्वलाई अघि बढाउन आवश्यक छ।’ स्थानीय सरकारको नेतृत्वबाट प्राप्त अनुभवलाई पार्टी संगठनसँग जोड्दै नीति निर्माण र नेतृत्व विकासमा योगदान गर्ने उनको भनाइ छ।

ताजा खबर

सम्बन्धित खबर