२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार १० गते १२:५६
Shares
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

काठमाडौं : रौतहटमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । प्रहरीले चोरी भएको मोटरसाइकलसहित उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको जनाएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार असार ९ गते साँझ करिब साढे ६ बजे गरुडा नगरपालिका–४ स्थित एक घर अगाडि पार्किङ गरी राखिएको बा.प्र.०२–०४१ प ३८४९ नम्बरको २२० सीसी क्षमताको पल्सर मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएको सूचना प्राप्त भएपछि जिल्लाका विभिन्न प्रहरी एकाइलाई परिचालन गर्दै खोजी अभियान तीव्र बनाइएको थियो ।

खोजीका क्रममा गढीमाई नगरपालिका–६ स्थित प्रहरी चौकी धर्मपुरबाट खटिएको विशेष चेकिङ टोलीले चोरी भएको करिब आधा घण्टाभित्रै मोटरसाइकल फेला पारेको प्रहरीले जनाएको छ । साँझ करिब ७ बजे उक्त मोटरसाइकल नियन्त्रणमा लिनुका साथै चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई घटनास्थलबाटै पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनामाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धानका लागि रौतहट जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति समेत लिइएको उनले बताए ।

प्रहरीले पछिल्लो समय जिल्लामा सवारीसाधन चोरीका घटना नियन्त्रण गर्न गस्ती तथा चेकजाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ । प्रहरीको सक्रियताका कारण चोरी भएको छोटो समयमै मोटरसाइकल बरामद हुनुका साथै संलग्न व्यक्तिहरूलाई समेत पक्राउ गर्न सफल भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर