
कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कृष्णनगरबाट १४ किलोभन्दा बढी लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्कमा चेकजाँच गर्ने क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका पाँच जनालाई शंकास्पद अवस्थामा रोकेर जाँच गरेको थियो । सो क्रममा उनीहरूको साथबाट चरेसजस्तो देखिने कालो गिलो पदार्थ ४ किलो २२५ ग्राम र अफिमजस्तो देखिने गिलो पदार्थ १० किलो बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–३ मसुरियाका ३४ वर्षीय रीतिमा रोका, कपिलवस्तु विजयनगर गाउँपालिका–४ ज्योतिनगरका ४५ वर्षीय फर्निसरा सारु, ५६ वर्षीय नसरी घर्तीमगर, पर्सा ठोरी गाउँपालिका–२ का ४८ वर्षीय चुमालाल लामिछाने तथा दाङ राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय विमला पुन रहेका छन् ।
प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइल फोन समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई लागुऔषध कसुरसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।