२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

रौतहटमा माछा फर्मका कामदारमाथि छुरा प्रहार

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ भदौ २३ गते १४:११
Shares
रौतहटमा माछा फर्मका कामदारमाथि छुरा प्रहार

रौतहट : रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा माछा पालन फर्ममा कार्यरत एक कामदारमाथि छुरा प्रहार भएको छ । आइतबार राति भएको घटनामा दिपेश पासवान गम्भीर घाइते भएका छन् ।

ncell

स्थानीयका अनुसार रामपुर टोलका २-३ जना युवाले पासवानमाथि धारिलो हतियार प्रहार गरेका थिए । आक्रमणमा घाइते भएका पासवानको स्थानीय अस्पतालमा उपचार गरिएको र उपचारपछि उनी घर फर्किएको जनाइएको छ ।

घटनापछि स्थानीयले क्षेत्रमा सुरक्षा व्यवस्था प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । घटना भएको स्थान सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बिओपी) रामपुर खापबाट करिब १० मिटरको दूरीमा रहेको स्थानीयको भनाइ छ ।

सुरक्षा पोस्टको नजिकै हिंसात्मक घटना हुँदा पनि सुरक्षाकर्मीले घटनाबारे तत्काल जानकारी नपाएको बताएको भन्दै स्थानीयले सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । उनीहरूले संवेदनशील क्षेत्रमा नियमित निगरानी र गस्ती बढाउन माग गरेका छन् ।

यसैबीच, पीडित पक्षले घटनामा संलग्नमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरी चौकी रामपुर खापमा निवेदन दिन खोज्दा प्रहरीले घटनालाई मेलमिलापमार्फत टुंग्याउन दबाब दिएको आरोप लगाएको छ । यद्यपि, यस विषयमा प्रहरीको आधिकारिक धारणा भने स्पष्ट हुन बाँकी छ ।

स्थानीयका अनुसार घटनामा संलग्न भनिएका केही युवाहरू यसअघि पनि विभिन्न विवाद तथा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ । स्थानीय निर्वाचन तथा आम निर्वाचनका समयमा दुईवटा मोटरसाइकलमा आगजनी गरिएको घटनामा समेत उनीहरूको संलग्नता रहेको स्थानीयको दाबी छ । विगतका घटनामा प्रभावकारी कारबाही हुन नसक्दा उनीहरूको मनोबल बढेको स्थानीयको आरोप छ ।

रामपुर खाप क्षेत्रमा पछिल्लो समय लागूऔषध सेवन तथा युवाहरूको समूहबीच हुने विवादका कारण स्थानीयमा त्रास बढेको स्थानीयको भनाइ छ । रातको समयमा आवतजावत गर्नसमेत असहज हुने अवस्था सिर्जना भएको उनीहरूले बताएका छन् ।

स्थानीयले पछिल्लो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् । साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निगरानी र गस्ती प्रभावकारी बनाउन उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

घटनामा संलग्न भनिएका व्यक्तिको पहिचान, पक्राउ तथा घटनाको वास्तविक कारणबारे प्रहरीले औपचारिक रूपमा अनुसन्धान अघि बढाएपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

uae

सम्बन्धित खबर