
बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा एक ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गत आइतबार बिहानदेखि बेपत्ता भएकी स्थानीय सुकुम्वासी बस्ती दसधुरीकी गरिमा चौधरीको शव मंगलबार साँझ फेला परेको हो । यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा रहेका छन्, जो वीरगञ्ज–पथलैया मार्गमा चल्ने ना १ ज ७७५८ नम्बरको म्याजिक भ्यानका सहचालक हुन् । घटना पश्चात् सुमन आफैं प्रहरी र स्थानीयसँग मिलेर बालिका खोज्ने बहाना गरिरहेका थिए । शव भेटिएपछि पनि उनी 'हत्यारालाई जसरी पनि समात्नुपर्छ' भन्दै घटनास्थल वरपर प्रहरीसँगै हिँडडुल गरिरहेका थिए ।
तर, मंगलबार साँझ बारा प्रहरीले तालिमप्राप्त कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरु गरेपछि कुकुरले सुमनतर्फ संकेत गरेको थियो । कुकुरको सोही इसाराका आधारमा सुमनलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । यसैगरी, प्रहरीले अनुसन्धानकै सिलसिलामा उक्त म्याजिक भ्यानका धनी तथा चालक २४ वर्षीय प्रोग्रेस चौधरीलाई पनि पक्राउ गरेको छ । यद्यपि, थापाले घटनामा आफ्नो मात्र संलग्नता रहेको दाबी गरेका छन् ।
मृतक बालिका सुमनले काम गर्ने म्याजिकका चालक चौधरीको घरमा आउजाउ गर्ने गर्थिन् । आइतबार बिहान सुमनले उनलाई ललाइफकाइ गरेर चालककै घरबाट नजिकै रहेको वीर बहादुर रोकाको खाली घरको एउटा कोठामा पुर्याएका थिए । त्यहाँ उनले बालिकालाई जबरजस्ती करणी गरेपछि बालिका बेहोस भएकी थिइन् ।
प्रहरी बयानमा सुमनले बालिका बेहोस भएपछि उनलाई डोरीमा झुण्ड्याएर त्यहाँबाट फर्किएको र पुनः चालकको घरमै आएको स्वीकार गरेका छन् । सोही दिन दिउँसो पुनः घटनास्थलमा पुगेर उनले बालिकाको शवलाई कपडामा पोको पारेर राखेका थिए । घटनाको दुई दिनपछि उक्त खाली घरबाट दुर्गन्ध आउन थालेपछि मात्र स्थानीयको सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।
३ वर्षीया गरिमाको यसरी हत्या भएपछि उनको परिवार पूर्ण रूपमा विक्षिप्त बनेको छ । उनकी आमा मानमती चौधरी मंगलबारदेखि नै अर्धचेत अवस्थामा छिन् ।
क्रूरतापूर्वक गरिएको यस हत्याको विरोधमा स्थानीयवासी आक्रोशित भएका छन् । दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै स्थानीयले बुधबार दिउँसो इलाका प्रहरी कार्यालय सिमरा अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण वीरगञ्ज–पथलैया सडक खण्डमा दुई घण्टासम्म यातायात पूर्ण रूपमा ठप्प भएको थियो ।