
काठमाडौं : नेपाली समाजमा अब चाडपर्वको मौसम सुरु भएको छ । दसैं, तिहार, नेपाल संवत् र छठ लगातार आउने भएकाले कात्तिक र मंसिर महिनामा गाउँदेखि सहरसम्म आफन्त, परिवार, समुदाय भेटघाटमा रहन्छन् ।
चाडपर्वमा हुने यस्तो भेटघाटको माहोललाई राजनीतिक दलहरू चुनावी चर्चाको माहोल बनाउने प्रयत्नमा छन् । यही समयलाई राजनीतिक दलहरूले आगामी स्थानीय तह निर्वाचनको तयारी र जनसम्पर्क विस्तारका लागि उपयोग गर्न लागेका हुन् ।
सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचन केन्द्रित अभियान सुरु गरेको छ । मंगलबारबाट रास्वपाका संघीय सांसद् र केन्द्रीय सदस्य प्रत्येक स्थानीय तहमा पुग्दै छन् ।
यसका लागि यसअघि नै रास्वपाले संगठनात्मक र उम्मेदवार छनोटसम्बन्धी गृहकार्य थालेको थियो । रास्वपाले स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा बनाउन समिति गठन गरेको थियो ।
रास्वपाले मंगलबारदेखि असोज २७ गतेसम्म एक साताका लागि विभिन्न जिल्लामा नेताहरू खटाएको छ । प्रदेशअनुसार जिल्लाहरूमा जिम्मेवारी पाएका नेताहरूलाई स्थानीय तह निर्वाचनकेन्द्रित गतिविधि, संगठन विस्तार तथा पार्टीको अभियानमा परिचालन गर्ने जनाइएको छ ।
रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक रास्वपाले नागरिकका कुरा सुन्न मात्र होइन पार्टीको कुरा पनि सुनाउन खोजेको छ । भिडियो सन्देश जारी गर्दै उनले अभियानको मुख्यतः दुईवटा उद्देश्य रहेको बताएकी छन् ।
उनका अनुसार स्थानीय तहको कामकारबाही र आगामी चुनावमा उठाउने उम्मेदवार छनोटको विधि बुझाउने र वर्तमान सरकार गठन भएपछिको ६ महिनामा संसद र सरकारमार्फत भएका पहलबारे जानकारी गराउने गरी अभियान सुरु गरेको हो ।
नेपाली कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीलगायत दलहरू पनि स्थानीय निर्वाचन लक्षित संगठन पुनर्गठन, प्रशिक्षण र जनप्रतिनिधिसँगको अन्तक्र्रियामा छन् ।
अर्थात्, राजनीतिक दलहरू चाडपर्व नजिकिँदै गर्दा गाउँ केन्द्रित हुँदै छन् ।
सरकार र निर्वाचन आयोगको तयारीअनुसार स्थानीय तहको निर्वाचन आगामी फागुनमा गर्ने गृहकार्य भइरहेको छ । स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिन लागेकाले निर्वाचनको समय पनि नजिकिँदै गएको छ ।
यसकारण यसपटकको दसैं तिहार चाडपर्व मनाउने समय मात्र नभएर राजनीतिक दलका लागि जनतामाझ पुग्ने अवसरसमेत बन्दै छ ।
यो समयमा दलहरू आफ्ना राजनीतिक एजेन्डा, सरकारका काम, स्थानीय विकासका मुद्दा र आगामी निर्वाचनका प्राथमिकता नागरिकसम्म पुर्याउँदै छन् ।
नेपाली कांग्रेस अहिले १५औं महाधिवेशनको प्रक्रियामा छ । कांग्रेसको महाधिवेशन असोज १८ देखि सुरु भएको हो र अहिले बन्दसत्र तथा नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ ।
महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व मात्र चयन गर्ने छैन, आगामी निर्वाचनमा पार्टीले लिने राजनीतिक बाटो र संगठन सञ्चालनको प्राथमिकता पनि प्रभावित गर्नेछ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन् । महाधिवेशन लगत्तै गाउँकेन्द्रित हुने कांग्रेस नेताहरू बताउँछन् ।
नेपाली कम्युनिस्ट पार्टी पनि मंसिरमा गर्ने भनिएको महाधिवेशनलाई स्थानीय तह निर्वाचनपछि सार्ने र चुनाव केन्द्रित हुने तयारीमा छ ।
गत वैशाखमा नेकपाले मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि सदस्यता नवीकरणदेखि वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशनसम्मको कार्यतालिका बनाइएको थियो । तर तोकिएको कार्यतालिकाअनुसार संगठनात्मक काम अघि बढ्न नसकेपछि महाधिवेशनको मिति पुनर्विचारको विषय बनेको हो ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले महाधिवेशनको मिति तय गर्दा स्थानीय निर्वाचनलाई समेत ध्यानमा राखिने बताएका छन् ।
अर्थात् स्थानीय चुनावलाई प्राथमिकता दिँदै नेकपा महाधिवेशन नै पछाडि सार्ने विकल्पमा पुगेको छ । चुनावका लागि चाडपर्वको माहोलको उपयोग गर्ने नीतिमा यो पार्टीका नेताहरू पनि छन् ।
दसैंमा देशका विभिन्न भागबाट मानिसहरू आफ्नो गाउँघर फर्किन्छन् । तिहारमा परिवार र समुदायको जमघट हुन्छ । त्यसपछि नेपाल संवत् छ । तराई–मधेशमा छठ पर्वका अवसरमा पनि ठुलो सामाजिक जमघट हुन्छ ।
चाडपर्वको अवसरमा नागरिकसँग भेटघाट गर्ने, शुभकामना आदानप्रदान गर्ने, स्थानीय समस्या सुन्ने र आफ्ना राजनीतिक धारणा राख्ने अवसर बनाउन खोज्दै छन् ।