२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

मनसुन प्रतिकार्य तयारीमा सशस्त्र प्रहरी

Nada
सपना बोहरा
२०८३ असार १२ गते ०६:२५
Shares
मनसुन प्रतिकार्य तयारीमा सशस्त्र प्रहरी

काठमाडौं : यो वर्षको मनसुन सुरु भइसकेको छ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्य योजना बनाएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ अनुरूप देशभर रहेका सशस्त्र प्रहरी बल नेपालका २१ हजार ६ सय ९९ जनशक्तिलाई विपद् व्यवस्थापन अनुशिक्षण तालिम दिएर तयारी अवस्थामा राखेको छ । अति संवेदनशील भएका क्षेत्रलाई मध्यनजर गरेर देशका विभन्न ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको बलले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । वर्षाको समयमा डुबान वा बाढी आएमा त्यसको प्रतिकार्य गर्नको लागि आठ हजार १८० जना सशस्त्र प्रहरी कर्मचारी २४ सै घण्टा खटाइएको छ । जसको उद्धारमा सहज होस् भन्नका लागि ती कर्मचारीहरू तुरुन्न उपलब्ध हुनेछन् । 

ncell

सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार, विपद् व्यवस्थापनका विशिष्टीकृत तालिमप्राप्त चार हजार ७१० जना दक्ष सशस्त्र प्रहरी कर्मचारी तुरुन्त परिचालन हुनका लागि विपद् उद्धारका सामाग्रीसहित तयारी अवस्थामा राखिएको छ । ‘त्यस्तै, सशस्त्र प्रहरी बलमा रहेका ८२ वटा ¥याफ्ट बोट, ५३ वटा मोटरबोट तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘१३४ जना गोताखोर तालिम प्राप्त जनशक्तिलाई देशभरका ११ वटा जोखिमयुक्त स्थान आवश्यक उपकरणसहित तयारी अवस्थामा राखेका छौं ।’ 

सशस्त्र प्रहरीका कार्यालयबाट विपद् उद्धारमा परिचालन हुन समय लाग्ने विपद्जन्य स्थानको पहिचान गरी अस्थायी बेस स्थापना गरिएको छ । जसअनुसार कोशी प्रदेशमा ६, मधेशमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठवटा अस्थायी बेस स्थापना गरिएका छन् । 

सशस्त्र प्रहरीले हिमाल, पहाड र तराईका १६ स्थानमा विपद् व्यवस्थापन बेस स्थापना गरी आवश्यक जनशक्ति र स्रोतसाधनलाई तयारी अवस्थामा राखेका प्रवक्ता कार्कीले जानकारी दिएका छन् । धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलालीमा स्थायी बेस स्थापना गरिसकेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्षको मनुसनमा सरदरभन्दा कम वर्षाको आकलन गरिए पनि मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार ८८६ घरधुरीका करिब दुई लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने जनाएको छ । 

प्राधिकरणका अनुसार कोशीमा ३८ हजार ७३६, मधेसमा ३५ हजार ३६१, बागमतीमा ३२ हजार ८९७, गण्डकीमा २१ हजार ६४१, लुम्बिनीमा ५१ हजार ६२६, कर्णालीमा १३ हजार १७५ र सुदूरपश्चिम प्रदेशमा ३३ हजार २२७ जनसंख्या  प्रभावित हुने अनुमान छ ।

सूचना प्रवाह गर्न ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’

सशस्त्र प्रहरीले विपद्का समयमा उद्धारका लागि सूचना प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले ‘एपिएफ–कम्युनिटी अलर्ट सिस्टम’ (एपिएफ–सिएएस) प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीबाट हरेक बाहिनी तहमा रहेको परिचालन कक्षमा तत्काल सूचना प्राप्त हुने र शीघ्र परिचालनका लागि आदेश दिइने प्रवक्ता कार्कीले जानकारी दिए ।

त्यस्तै, सशस्त्र प्रहरीले विपद्सम्बन्धी सूचना समयमै प्राप्त गर्ने उद्देश्यले एक लाख ६८ हजार ९५६ जना विपद् सूचक रहेको सञ्जाल तयार पारेको छ । ती सूचकले आफूनजिकको स्थानमा विपद् भएको अवस्थामा तत्कालै नजिकको सशस्त्र प्रहरीको युनिटमा सूचना दिनेछन् । 

सीमा सुरक्षामा चुनौती 

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षामा चुनौती भएको बताउँछन् । सीमामा चर्किंदो विवादका कारण चुनौती सिर्जना भएको उनको भनाइ छ । ‘सीमा क्षेत्रमा परिचालन गर्नका लागि जनशक्तिको अभाव छ,’ उनले भने, ‘सुरक्षा व्यवस्थापन गर्नका लागि प्रविधिको चुनौती पनि उत्तिकै छ ।’ सीमा नाकामा हुने नागरिकको आवतजावतलाई सहज बनाउन र सीमा अपराध नियन्त्रण गर्न ‘बोर्डर इन्ट¥याक्सन टिम’को अवधारणा ल्याइएको उनले जानकारी दिए । 

संगठनको नीतिगत र संरचनागत विकासका लागि ‘नीति अनुसन्धान तथा योजना निर्देशनालय’लाई स्तरोन्नति गरी कार्य प्रारम्भ गरिएको उनले बताए । ‘संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सीमा सुरक्षा, विपद् व्यवस्थापन र आर्थिक सुशासनलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘संगठनको छवि सुधार्न र जनअपेक्षाअनुसार नतिजा दिन क्रियाशील रहनेछु ।’ 

राजस्व चुहावट नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै महानिरीक्षक पौडेलले संगठनभित्र आर्थिक सुशासन र पारदर्शिताका लागि शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारे । संगठनभित्र हुनसक्ने आर्थिक अनियमिततासम्बन्धी गुनासोको समयमै निराकरण गर्ने उनको लक्ष्य छ । 

त्यसका लागि संगठनको नीतिगत र संरचनागत विकासका लागि ‘नीति अनुसन्धान तथा योजना निर्देशनालय’लाई स्तरोन्नति गरी कार्य प्रारम्भ गरिएको उनले जानकारी दिए । विपद् व्यवस्थापनका क्षेत्रमा संगठनले स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै उनले हाल पूर्ण तयारीका साथ प्रतिकार्य योजना बनाएर समन्वयका साथ अगाडि बढिरहेको बताए ।

ताजा खबर

सम्बन्धित खबर