काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका पीडितहरुलाई तीन महिनाको अवधिमा ४८ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको बताएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मंगलबार आफ्नो तीन महिने अवधिमा गरेका कामको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।
मन्त्री कुँवरले चालु आर्थिक वर्षमा वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा पीडितहरूलाई ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको बताए । वैदेशिक रोजगारीको क्रममा भएका ठगीको उजुरी जिल्ला प्रशासन कार्यालयले हेर्ने र उजुरीमा कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाउने व्यवस्था करिब तीन वर्षदेखि कार्यान्वयनमा छ । मन्त्री कुँवरले उक्त व्यवस्था पीडितहरूलाई न्याय दिन प्रभावकारी रहेको भन्दै आगामी दिनमा त्यसलाई संघीयताको मर्मअनुसार थप प्रभावकारी बनाउने बताए ।
तीन महिनाको अवधिमा बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति ‘नर्स’ पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर, रोमानियाको भिसा प्रक्रियालाई सरल बनाउन ताहाचलमा अस्थायी मिसन स्थापना, इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८ समसामयिक बनाउन कार्यदल गठन जस्ता वैदेशिक रोजगार व्यवस्थापनका लागि दीर्घकालीन महत्वका काम भएको भन्दै मन्त्री कुवँरले सबै प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरूबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने कामले वैदेशिक रोजगारमा जाने युवायुवतीलाई राहत पुगेको बताए ।
सरोकारवालाहरूले प्रधानमन्त्री रोजगार कार्यक्रम अनुत्पादक र असफल भएको टिप्पणी गरिरहेका छन् । तर मन्त्री कुँवरले उक्त कार्यक्रमसहित युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रम सफलताका साथ सञ्चालन भइरहेको दाबी गरे । उनले भने, ‘उल्लेखित कार्यक्रमसहित वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनः एकीकरण परियोजना प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन हुने भएकाले परिणाममुखी बन्ने अपेक्षा गरिएको छ ।’
प्रत्येक वर्ष नेपाली श्रम बजारमा प्रवेश गर्ने युवायुवतीलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले व्यावसायिक सीप तथा तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन भइरहेको पनि मन्त्री कुँवरले बताए । १० प्रकारका घातक रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने, सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकका स्नातक तहको प्रथम वर्षमा भर्ना भई अध्ययन गरिरहेका सन्ततिहरूलाई छात्रवृत्ति प्रदान गरिने जस्ता लोक कल्याणकारी कामहरुको पनि यस अवधिमा शुरुवात गरेकोे उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies