२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

कक्षा १२को परीक्षा : छिटो नतिजा, धेरै विवाद 

‘पुनर्योग’का लागि ३२ हजार परीक्षार्थीको निवेदन

Nada
सपना बोहरा
२०८३ असार १६ गते ०६:२५
Shares
कक्षा १२को परीक्षा : छिटो नतिजा, धेरै विवाद 

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा लापरबाही देखिएको भन्दै एक विद्यार्थी पवन आचार्यले असन्तुष्टि पोखे । जति कडा जाँचे पनि ‘बी’ग्रेडभन्दा कम नआउने सोचेका उनी ‘ननग्रेड’ भए । यस्तो नतिजाले उनी तनावमा परेका छन् । ‘ननग्रेड आउँदा स्कुलका साथी, शिक्षकको अगाडि अनुहार देखाउन सकेको छैन्,’ उनले भने । 

ncell

आचार्यले पुनर्योगका लागि बोर्डमा निवेदन दिएका छन् । नतिजा सार्वजनिकपछि हजारौं विद्यार्थीले असन्तुष्टि पोखेका छन् । उत्तरपुस्तिका जाँच र नतिजामा त्रुटि गरिएको भन्दै विद्यार्थी संगठनको अगुवाइमा परीक्षार्थीहरू माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनका सहभागी अर्का एक विद्यार्थीले पनि कक्षा १२ को परिक्षाफल ए गे्रेडमा आउनेको अनुमान गरेकी थिइन् । तर, आयो ननग्रेड । सुरुमा त उनलाई विश्वासै लागेन । दोहोराइ–तेहराइ हेर्दा पनि उनी ननग्रेड नै थिइन् । अनपेक्षित रिजल्ट आएपछि उनी र उनका साथीहरू बिरोधमा उत्रिए । अंक ‘पुनर्योग’ गर्न माग राख्दै माइतीघर मण्डला पुगेकी किशोरीले भनिन्, ‘मेरो यस्तो नतिजा कहिल्यै आएको थिएन् । यसपटक पनि राम्रै गरेको हो । तर ननग्रेड आयो । पत्याउनै सकेको छैन ।’

छोरीको रिजल्टबाट उनकी आमा पनि चिन्तित छिन् । उनी भारतमा काम गर्छिन् । ‘तबाट अब पढाइ हुदैँन । इण्डिया आइज मसँग काम गर भन्नुहुन्छ । अब म कसरी सम्झाउने ?’ उनले भनिन् । कक्षा १२ परीक्षपछि उनी सिइईको तयारीमा थिईन् । त्यसका लागि २० हजार खर्च पनि भइसकेको छ । तर, रिजल्ट आयो अर्कै । ‘हतार–हतारमा कापी जाँचेर सरकारले त्रुटि गरेको छ । उत्तरपुस्तिका रिचेकिङ गरेपछि मात्र वास्तविकता बाहिर आउँछ’ उनले भनिन् । 

राष्ट्रिय परीक्षा बोर्डले परिक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गरेकाले हतारमा त्रुटि भएको उनीहरूको आशंका छ । त्यसैले पुनर्योग र रिचेकका लागि धमाधम निवेदन दिइरहेका छन् । विद्यार्थीहरूले जाँच राम्रो भए पनि अपेक्षाअनुसार रिजल्ट नआएको गुनासो गरेका छन् । अधिकांश विद्यार्थीलाई पास भए पनि ग्रेड चित्त बुझेको छैन ।

३२ हजारले मागे पुनर्योग 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, कक्षा १२ को नतिजा प्रकाशन गरेको १० दिनमा ३२ हजारभन्दा बढी विद्यार्र्थीले पुनर्योगको माग गर्दै अनलाइन फारम भरेका छन् । 

यतिधेरै विद्यार्थीले नतिजामाथि प्रश्न उठाएर पुनर्योगको माग गरेको पहिलोपटक हो । वैशाख १४ बाट २७ गतेसम्म सञ्चालन भएको परीक्षामा तीन लाख ३२ हजार २४१ परीक्षार्थी सहभागी थिए । 

परीक्षा सञ्चालन भएको ३८ दिनमै नतिजा सार्वजनिक गरेको थियो । जसमा दुई लाख ३१ हजार ४७० जना उत्तीर्ण भएको बोर्डले जनाएको छ । बोर्डकी सहसचिव एवं प्रवक्ता जयन्ती सत्याल विद्यार्थीहरूले भनेजस्तो एक महिनामा नतिजा सार्वजनिक गरेकै कारण कुनै किसिमको लापरबाही नभएको दाबी गर्छिन् । ‘उत्तरपुस्तिका जाँचमा कुनै त्रुटि छैन,’ उनले भनिन्, ‘परीक्षाको फारम भर्ने समयमा राम्रोसँग नमिलेको हुन सक्छ, समस्या पनि त्यहीमा हो ।’ 

थुप्रै विद्यार्थीको नाम, उमेरलगायतमा समस्या भने देखिएको उनी बताउँछिन् । ‘विद्यालयबाट जस्तो फारम भरेर आउँछ, हामीले त्यसैअनुसार विद्यार्थीको नतिजा सार्वजनिक गर्ने हो,’ उनले भनिन्, ‘बोर्डले विद्यार्थीको भविष्यलाई लिएर कहिल्यै पनि कुनै सम्झौता गरेको छैन ।’

नतिजा चित्त नबुझेको अवस्थामा बोर्डमा आएर आफ्नो समस्या राखे पुनर्योग र उत्तरपुस्तिका रि–चेकिङ दुवैको सुविधा भएको प्रवक्ता सत्याल बताउँछिन् । ‘विगतका वर्षहरूमा जस्तै अनुभवी र विषय शिक्षकहरूले नै उत्तरपुस्तिका जाँच गरेका हुन्,’ उनले भनिन्, ‘गत वर्षको तुलनामा यसपालि केही जनशक्ति र परीक्षण केन्द्रहरू थप गरेर हामीले दिनरात नभनी काम गरेका थियौं ।’ कक्षा १२कै रिजल्टबारे गुनासो लिएर आएका कतिपय विद्यार्थी आफ्नो समस्याको समाधान लिएर फर्किसकेको उनको दाबी छ । 

राष्ट्रिय परीक्षा बोर्डमा पुनर्योग गर्न एक हजार र उत्तरपुस्तिका पुनः जाँच गर्न १५ सय रुपैयाँ शुल्क लिने गरेको छ । तर, अहिले उत्तरपुस्तिका पुनः जाँच गर्नुपर्ने बाध्यता बोर्डले नै सिर्जना गराएकाले शुल्क छुट दिनुपर्ने विद्यार्थीहरूको माग छ । 

छिटो नतिजाले त्रुटि आएको होइन : शिक्षामन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२को नतिजा प्रकाशनमा कुनै हतार नभएको प्रतिक्रिया दिएका छन् । एक महिनामै नतिजा प्रकाशन गर्ने हतारोले त्रुटि भएको आरोप लागेका बेला उनले नतिजाको प्रक्रियाप्रति स्पष्ट र विश्वस्त रहेको दाबी गरेका छन् । ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन । बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,’ उनले केही दिनअघि प्रस्टीकरण दिँदै भनेका थिए । मन्त्री पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको नमुना परीक्षण तथा परीक्षांक तथा डेटा इन्ट्रीको प्रमाणीकरण गर्न समिति गठन गरिएको जानकारी पनि दिएका छन् । परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएको थियो । तर, बोर्डले सरकारले तोकेको समयभन्दा अघि नै नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा बोर्डकी प्रवक्ता सत्यालले परीक्षाको नतिजामा चित्त नबुझेको विषयमा बोर्डले तोकेको प्रक्रियामा आउन सकिने व्यवस्था भएको बताउँछिन् । उनी भन्छिन्, ‘अभिभावकको उपस्थितिमा परीक्षार्थीले उत्तरपुस्तिका परीक्षण हेर्न सक्ने व्यवस्था छ, पुनर्योग गर्ने सिस्टम छ । त्यसले चित्त बुझेन भने कपी नै हेर्न पाइन्छ ।’ उनले थपिन्, ‘त्यतिले पनि चित्त नबुझे रिचेकिङ गर्न पाइन्छ ।’ 

अहिले सबै सुविधा अनलाइनमै भएको उनले बताइन् । तर, नतिजा प्रकाशन भइसकेको अवस्थामा ०.०००५ प्रतिशत मात्रै फेरबदल हुने गरेको उनको दाबी छ । ‘विगतमा पनि चित्त नबुझे पुनर्योग गरेका धेरै अभ्यास छन्,’ उनले भनिन्, ‘तर, नतिजामा फेरबदल भएको पाइएको छैन ।’

ताजा खबर

सम्बन्धित खबर