२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

सिरहामा लागुऔषध कारोबारीसँग प्रहरीको गोली हानाहान, भारतीय नागरिक घाइते

Nada
मुकेश यादव
२०८३ असार १९ गते २०:४६
Shares
सिरहामा लागुऔषध कारोबारीसँग प्रहरीको गोली हानाहान, भारतीय नागरिक घाइते

सिरहा : सिरहाको नवराजपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा शुक्रबार नेपाल प्रहरी र लागुऔषध कारोबारी समूहबीच गोली हानाहान भएको छ । घटनामा भारतको मधुवनी जिल्लाका एक भारतीय नागरिक घाइते भएका छन् । 

ncell

प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा खटिएको टोलीले उक्त क्षेत्रमा छापा मारेको थियो। शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा लागुऔषध कारोबारी समूहले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । उक्त गोलीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

प्रहरीले आत्मरक्षाका लागि दुई राउन्ड गोली चलाएको थियो। त्यसक्रममा भारतको मधुवनी जिल्लाका अब्दुल कलामको खुट्टामा गोली लागेको सिरहा प्रहरीका प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानअनुसार अब्दुल कलाम उक्त समूहका मुख्य सदस्य रहेको र भारतबाट नेपालतर्फ ब्राउन सुगरलगायत लागुऔषधको अवैध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले १२२ ग्राम ब्राउन सुगर र एक थान कटुवा पेस्तोल बरामद गरेको छ । गोली लागेर घाइते भएका अब्दुलको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न अन्य २–३ जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर