
काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले काठमाडौं उपत्यकामा पानी आपूर्ति बन्द गरेपछि लाखौं उपभोक्ता प्रभावित बनेका छन् ।
उपत्यकावासीलाई पानीको वैकल्पिक सुविधा नदिएर समितिले असार १९ गतेदेखि पानी आपूर्ति बन्द गरेको छ । जसको कारण जारको पानी किन्न बाध्य भएको छन् । ‘धारामा मेलम्चीको पानी आउन छाडेको एक हप्ता हुन लागिसक्यो, स्टकमा राखेको पनि सकियो,’ अनामनगरकी मनीषा श्रेष्ठले भनिन्, ‘समितिले पूर्वजानकारीबिना नै पानी दिन छाड्यो ।’
उनले मेलम्चीको पानीको धारा जडान गरेकी छिन् । पानी आपूर्ति बन्द हुँदै छ भनेर पूर्वजानकारी नदिई एक्कासि पानी बन्द गरेकोप्रति उनको गुनासो छ । उनी भन्छिन्, ‘शौचालयदेखि भान्सासम्म जारको पानी किनेर पु¥याउनुपरेको छ । यसरी त सम्भव नै हुँदैन ।’
धारामा पानी आउन छाडेपछि जारको पानी किनेर खाना पकाउनेदेखि बच्चाको सरसफाइ गर्न बाध्य भएको बानेश्वरकी विपना कार्की बताउँछिन् । ‘घरमा थोरै पानीले पुग्दैन, जारको पानी किनेर साध्य हुँदैन,’ उनले भनिन्, ‘हामी पूरै मेलम्चीको पानीको भरमा थियौं । पानी आउन बन्द भएपछि तनावमा छौं ।’
काठमाडौंमा मेलम्चीको पानी नहुँदा हाहाकारजस्तै भएको छ । मनसुन सक्रिय भएसँगै आयोजनाको हेड वक्र्स र मुहान क्षेत्रमा आउन सक्ने बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकामा पानी आपूर्ति बन्द गरेको समितिले जनाएको छ । मनसुन अवधि नसकिएसम्म काठमाडौंमा पानी पथान्तरणको कार्य बन्द गरिएको जनाएको छ ।
काठमाडौं उपत्यका खानेपानी खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सन्तोष बरालले मेलम्चीको पानी आउने मनसुनमा निर्भर रहने बताउँछन् । उनी भन्छन्, ‘मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्य्रान तथा बाढीका कारण सुरुङभित्र माटो, ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढेकाले मनसुन अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गरिएको छ, पहिलो कुरा पानीको मुहान संरक्षण गर्नुपर्छ ।
मेलम्ची खोलामा पानीको मात्रा बढ्नाले कर्मचारीको आवतजावत गर्न असहज भएको, बाढीका कारण पानीमा भएको धमिलोपना (टर्बडिटी), पानी प्रशोधन केन्द्रको प्रशोधन क्षमताभन्दा बढी भई सुरुङ गेट खोल्ने र बन्द गर्नुपर्ने अवस्था सिर्जना हुँदा टनेलको संरचनामा असर पुग्न जाने भएको तथा सुरुङभित्र जमेको लेदो समय समयमा सफा गरी सुरुङ ‘इन्सपेक्सन’समेत गर्नुपर्नेलगायत कारणले पानी आपूर्ति बन्द गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।
‘अत्यधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्नको लागि बन्द गरिएको हो,’ उनले भने, ‘बाढीको बहाव कम भयो भने पानीको सुचारु हुन्छ ।’ उनका अनुसार पानीको मुहान सोमबारसम्म सुरक्षित नै छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश कुमार राईले उपत्यकाबासीलाई वैकल्पिक पानीको व्यवस्था गर्नका लागि छलफल भइरहेको बताउँछन् । ‘मेलम्चीको पानी आपूर्ति बन्द भएको अवस्थामा अहिले वैकल्पिक प्रणालीमार्फत पानी कसरी पु¥याउने भन्ने विषयमा छलफल गरिरहेका छांै,’ उनले भने, ‘अब चाँडै नै पानी वितरण गरिने समय तालिका सार्वजनिक गर्छौं ।’ मौसमकै कारणले मेलम्चीको पानी बन्द गर्नुपर्ने अवस्था भएको उनले स्पष्ट पारे । ‘मौसमसँग केही लाग्दैन,’ उनले भने, ‘मेलम्चीको पानी आउनेन÷आउने मनसुनमै निर्भर रहन्छ ।’
मेलम्ची खानेपानी बन्द भएको अवस्थामा विभिन्न वैकल्पिक स्रोतबाट पानी संकलन गरेर उपत्यकाका आमउपभोक्तालाई सूचारु रूपमा खानेपानी वितरण गर्ने सम्बन्धमा छलफल भइरहेको उनले जानकारी दिए ।
२०७८ असार १ गते र साउन १६ र १७ गते आएको मेलम्ची खोलामा आएको बाढीबाट मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित हेड वक्र्स र पहुँचमार्गलगायतका संरचना पूर्ण रूपमा क्षति बनाएको थियो । बाढीले मुख्य प्रणाली बन्द भएदेखि समितिले अस्थायी रूपमा काठमाडौं उपत्यकामा पानी वितरण गर्दै आएको छ ।
आयोजना सुरु भएको करिब २२ वर्षमा पानी काठमाडौं आइपुगेको भए पनि मेलम्चीको खानेपानी आयोजना २०७७ साल फागुन २२ गते पहिलोपटक सुन्दरीजलमा ल्याइएको थियो । चैत १५ गते मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा पुगेको थियो । दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट आउने गरेको आयोजनाले जनाएको छ ।