२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

जग्गा विवादले निम्त्यायो हत्या: चक्कु प्रहारबाट ६० वर्षीय वृद्धको मृत्यु, दुई जना पक्राउ

Nada
२०८३ असार २४ गते ०९:१४
Shares
जग्गा विवादले निम्त्यायो हत्या: चक्कु प्रहारबाट ६० वर्षीय वृद्धको मृत्यु, दुई जना पक्राउ

रौतहट : ​जिल्लाको ईशनाथ नगरपालिकामा जग्गासम्बन्धी पुरानाे विवाद बल्झिँदा एक वृद्धको हत्या भएको छ । ईशनाथ नगरपालिका वडा नम्बर ३ औरैयामा मंगलबार राति दुई पक्षबीच भएको उग्र झडपका क्रममा चक्कु प्रहार हुँदा एक जनाको ज्यान गएको हो भने अर्का एक वृद्ध गम्भीर घाइते भएका छन् ।

ncell

​प्रहरी र स्थानीय स्रोतका अनुसार मंगलबार राति करिब ८:१५ बजेको समयमा स्थानीय ८० वर्षीय रामबहादुर साह र उनका ६० वर्षीय छोरीज्वाइँ बुटन साहको, छिमेकी ६३ वर्षीय रामऔतार साह र उनका २६ वर्षीय छोरा राममहेश्वर साहसँग जग्गाको विषयलाई लिएर भनाभन भएको थियो ।

सामान्य विवादले उग्र रूप लिँदै गएपछि दुवै पक्षबीच कुटपिट सुरु भएको थियो । सोही क्रममा आक्रोशित बनेका २६ वर्षीय राममहेश्वर साहले बुटन साहमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट बुटन साहको ढाड (पिठ्युँ) मा गम्भीर चोट लागेको थियो । रक्ताम्य अवस्थामा रहेका साहलाई स्थानीय र आफन्तको सहयोगमा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो । तर अस्पताल पुर्‍याए लगत्तै चिकित्सकहरूले अथक प्रयास गर्दा पनि उनलाई बचाउन सकेनन् । उनको राति करिब ९:०५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रादेशिक अस्पताल गौरले जनाएको छ ।

सोही घटनामा परी अर्का वृद्ध ८० वर्षीय रामबहादुर साह पनि घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते साहको स्थानीय मेडिकलमा प्राथमिक उपचार भइरहेको र हाल उनको स्वास्थ्य अवस्था सामान्य र खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको जानकारी पाउन लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहट र स्थानीय प्रहरी चौकीबाट खटिएको विशेष प्रहरी टोलीले घटनामा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चक्कु प्रहार गर्ने मुख्य आरोपी २६ वर्षीय राममहेश्वर साह र झैँझगडामा संलग्न उनका बुबा ६३ वर्षीय रामऔतार साहलाई घटनास्थल आसपासबाटै पक्राउ गरीएको हो ।

​जिल्ला प्रहरी कार्यालय रौतहटले मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जनाए । पक्राउ परेका बाबु-छोरामाथि ज्यानसम्बन्धी कसुर  मुद्दामा म्याद थप गरी घटनाको गम्भीरताका साथ थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ । सामान्य जग्गा विवादले उग्र रूप लिँदा छिमेकीकै हातबाट वृद्धको ज्यान गएपछि अहिले औरैया गाउँ शोक र आक्रोशमा डुबेको छ ।

सम्बन्धित खबर