२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

यातायात व्यवस्था कार्यालय गौरद्वारा १० करोड ३९ लाख राजस्व संकलन

ADV
मनोज साह
२०८१ साउन २७ गते २०:१८
यातायात व्यवस्था कार्यालय गौरद्वारा १० करोड ३९ लाख राजस्व संकलन

रौतहट : रौतहट गौरमा रहेको यातायात व्यवस्था कार्यालय गौरले गत आर्थिक वर्ष २०८०/०८१ मा १० करोडभन्दा बढी राजस्व संकलन गरेको छ । २०८० साउन देखि २०८१ असार मसान्तसम्म कार्यालयले १० करोड ३९ लाख ८० हजार ५ सय रुपैयाँ संकलन गरेको हो । २०७९ साल फागुनदेखि सवारी चालक अनुमति पत्र वितरण गर्न थालेको सो कार्यालयले छोटो समयमा नै राम्रो राजस्व संकलन गर्न सफल भएको सो कार्यालयका प्रमुख अरबिन्द दासले जानकारी दिए । 

सो अवधिका यातायात व्यवस्था कार्यालय गौरले विभिन्न प्रकारका १३ हजार ९ सय ३१ वटा सवारी चालक अनुमति पत्र नागरिकहरुलाई प्रदान गरेको कार्यालय प्रमुख दासले जानकारी दिए । सबै प्रकार गरी ३३ हजार १ सय ९ वटा आवेदन परेकोमा १३ हजार ९ सय ३१ जनाले मात्रै सवारी चालक अनुमति पत्र पाउन सफल भएको उनले बताए । यातायात व्यवस्था कार्यालय रौतहट गौरले दिएको जानकारी अनुसार सबैभन्दा बढी मोटरसाइक ‘ए’ मा २३ हजार जनाको आवेदन परेको थियो ।

जसमा ७ हजार ७ सय २० जना मात्रै लाइसेन्स लिन सफल भएका थिए । यसैगरी सानो सवारी ‘वि’मा ८ हजार ५ सय जनाको आवेदन परेकोमा ५ हजार ६ सय ३० जना सफल भएको समेत उनले जानकारी दिए ।

यस्तै ‘सी’मा ४ सय २ जनाको आवेदन परेकामा १ सय १९ जना पास भएका,‘इ’ मा ३ सय ९५ जनाको आवेदन परेकामा १ सय ७२ जना सफल भएको र ‘के’ अर्थात् स्कुटरको चालक अनुमति पत्रको लागि ८ सय १२ जनाको आवेदन परेकोमा २ सय ९० जनाले चालक अनुमति पत्र लिन सफल भएको कार्यालय प्रमुख दासले जानकारी दिए ।

सो कार्यालयमा १२ जना कर्मचारीको दरबन्दी भएको भएतापनि ५ जना मात्रै स्थायी कर्मचारी भएको कारण कामकाज गर्न समस्या भएको दासले गुनासो गरे । केही करारको कर्मचारी राखेर काम गरिहेको समेत उनले बताए । 

यातायात व्यवस्था कार्यालय रौतहट गौरले सवारी दर्ता, नवीकरण, बाटो इजाजत पत्र, जाँचपास, पटके इजाजत पत्रको सेवा पनि प्रदान गदै आएको छ । चालक अनुमति पत्रतर्फ मोटरसाइकल, स्कुटर, सानो सवारी, अटो लगायतका ६ प्रकारका सवारी साधनको चालक अनुमति पत्र प्रदान तथा नविकरण पनि गर्दै आइरहेको उनले जानकारी दिए ।

गत आर्थिक वर्षसम्म यस कार्यालयमा २ सय २२ वटा मोटरसाइकल,१० वटा जीप कार, १ सय ६ वटा अटो र १ थान बस दर्ता भएको कार्यालय प्रमुख दासले जानकारी दिए । 

गौरमा यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रको सेवा प्रदान गर्न थालेपछि सवारी चालक अनुमति पत्र लिन यहाँका नागरिकहरुलाई विरगञ्ज, बर्दिबास धाउनुपर्ने बाध्यता हटेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise