२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

रौतहटमा नवविवाहित महिलाको शंकास्पद मृत्यु, दाइजोका कारण हत्या भएको माइती पक्षको आरोप

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार २८ गते १५:३४
Shares
रौतहटमा नवविवाहित महिलाको शंकास्पद मृत्यु, दाइजोका कारण हत्या भएको माइती पक्षको आरोप

रौतहट : रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिला आफ्नै घरभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । बरेडवा निवासी निरजकुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

ncell

प्रहरीका अनुसार मृतक निशाको शव घरभित्र बाँसको कोरोमा साडीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको प्रकृति शंकास्पद देखिएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो ।

प्रहरीले घटनास्थलको कानुनी मुचुल्का तयार गरी प्रारम्भिक अनुसन्धान सम्पन्न गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ ।

यता, मृतकका माइती पक्षले भने यो आत्महत्या नभई दाइजोको निहुँमा गरिएको योजनाबद्ध हत्या भएको दाबी गरेका छन् । मृतकका बुवा तथा ईशनाथ नगरपालिका–जटहरा निवासी रबिन्द्र साह सोनारका अनुसार निशाको विवाह गत फागुन महिनामा मात्रै भएको थियो ।

उनका अनुसार विवाहपछि ज्वाइँ निरजकुमार साह सोनारले पटक–पटक एयर कन्डिसनर (एसी), नगद रकम तथा थप दाइजोको माग गर्दै निशामाथि मानसिक र शारीरिक यातना दिने गरेका थिए । दाइजोको माग पूरा नभएपछि छोरीको हत्या गरिएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

माइती पक्षले घटनापछि आरोपित श्रीमान घर छोडेर फरार भएको दाबी गर्दै शवलाई आत्महत्या जस्तो देखाउन झुन्ड्याइएको आरोप समेत लगाएका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् ।

घटनापछि स्थानीय बासिन्दा तथा आफन्तहरूले पनि निष्पक्ष अनुसन्धानको माग गर्दै सत्यतथ्य सार्वजनिक गर्न रौतहट प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त गौतमले घटनालाई अत्यन्तै संवेदनशील रूपमा लिएर विभिन्न कोणबाट अनुसन्धान भइरहेको जानकारी दिए ।

उनका अनुसार घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन तथा विस्तृत अनुसन्धानपछि मात्रै पुष्टि हुनेछ । प्रारम्भिक अवस्थामै कसैलाई दोषी ठहर गर्न नमिल्ने भन्दै उनले प्रहरीले वैज्ञानिक प्रमाण, तथ्य तथा अन्य आवश्यक सामग्री संकलन गरेर अनुसन्धान अघि बढाइरहेको र अनुसन्धानबाट दोषी देखिने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे ।

सम्बन्धित खबर