२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

चन्द्रनगर गाउँपालिकाका मद्रसाको कक्षा स्तरोन्नतिमा ढिलाइ

Nada
इसत्याक अहमद
२०८३ असार ३० गते २२:२८
Shares
चन्द्रनगर गाउँपालिकाका मद्रसाको कक्षा स्तरोन्नतिमा ढिलाइ

सुनसरी : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेका मद्रसाहरूको कक्षा स्तरोन्नतिमा वर्षौंदेखि ढिलाइ भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । 

ncell

सर्लाहीको चन्द्रनगर गाउँपालिका–मोहनपुरका मौलाना अली हुसेनले गाउँपालिकाभित्र रहेका छ वटा मद्रसामा पर्याप्त विद्यार्थी, आवश्यक भौतिक पूर्वाधार तथा नियमित रूपमा कक्षा ५, ६ र सोभन्दा माथिसम्म अध्यापन भइरहे पनि हालसम्म कक्षा १ को मात्र स्वीकृति रहेको गुनासो गरे । 

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित जामिया इस्लामिया मद्रसामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय तहलाई कक्षा १२ सम्मका विद्यालय स्थापना, सञ्चालन र कक्षा स्तरोन्नतिको अधिकार भए पनि चन्द्रनगरका मद्रसाको स्तरोन्नतिका लागि आवश्यक पहल हुन नसकेको बताए ।

शिक्षा नीति तथा अभ्यास केन्द्रको पहलमा आयोजित शैक्षिक भ्रमणअन्तर्गत चन्द्रनगर गाउँपालिकाका मद्रसाका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिहरू अध्ययन अवलोकनका लागि सुनसरी पुगेका हुन्। भ्रमण टोलीले जामिया इस्लामिया मद्रसामा अन्तरक्रिया गर्नुका साथै त्यहाँको शैक्षिक व्यवस्थापन, पूर्वाधार र सञ्चालन प्रणालीबारे जानकारी लिएको थियो । 

कार्यक्रममा जामिया इस्लामिया मद्रसाका प्रबन्धक मौलाना अमजद हुसैनले ५५ वर्ष पुरानो इतिहास बोकेको मद्रसाको विकास यात्रा, चुनौती र उपलब्धिबारे जानकारी गराए । उनले मद्रसासँग पर्याप्त जग्गा, सुदृढ भौतिक पूर्वाधार तथा एक हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए । उनका अनुसार मद्रसाले कक्षा १२ सम्म उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । साथै, काठमाडौँ विश्वविद्यालयबाट स्नातक तह सञ्चालनको अनुमति प्राप्त गर्ने नेपालकै पहिलो मद्रसा यही रहेको जानकारी पनि उनले दिए ।

No description available.

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले जामिया इस्लामिया मद्रसाले नेपालमा मद्रसा शिक्षाको गुणस्तरीय विकासको उदाहरण प्रस्तुत गरेको बताए ।

उनले नेपालका धेरै मद्रसामा प्लस–टु तथा सोभन्दा माथिका कक्षाहरू सञ्चालन भइरहे पनि आवश्यक सरकारी स्वीकृतिविना सञ्चालन हुँदा विद्यार्थीको शैक्षिक प्रमाणपत्र र योग्यताको मान्यतामा समस्या देखिएको उल्लेख गरे। सबै मद्रसाले नेपाल सरकारबाट आवश्यक स्वीकृति प्राप्त गरी राष्ट्रिय शिक्षा तथा परीक्षा प्रणालीसँग आबद्ध हुनुपर्ने उनको सुझाव थियो । 

अन्तरक्रियामा समाजसेवी डा.खालिद हुसैनले मद्रसा शिक्षाको प्रभावकारी व्यवस्थापनका लागि नेपाल सरकारले कानुन निर्माण गरी छुट्टै मद्रसा बोर्ड गठन गर्नुपर्ने आवश्यकता औँल्याए ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल आजादले भ्रमण टोलीलाई स्वागत गर्दै मद्रसा शिक्षाको विकासका लागि स्थानीय तहहरूबीच सहकार्य आवश्यक रहेको बताए । आवश्यकता परे चन्द्रनगर गाउँपालिकाको भ्रमण गरी त्यहाँका शैक्षिक समस्याको समाधानमा सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

अध्यक्ष आजादका अनुसार गाउँपालिकाको पहलमा नेपाल सरकारबाट जामिया इस्लामिया मद्रसाका लागि १२ कोठे भवन निर्माणको बजेट प्राप्त भएको छ र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । साथै गाउँपालिकाले मद्रसाका लागि बसको व्यवस्था पनि गरेको उनले जानकारी दिए । अन्य स्थानीय तहले पनि विद्यालय र मद्रसाका लागि आवश्यक पूर्वाधार र सुविधा उपलब्ध गराउन यस्तै पहल गर्नुपर्ने उनको धारणा थियो । 

शिक्षा नीति तथा अभ्यास केन्द्रका अध्यक्ष अनुप सुवेदीका अनुसार भ्रमणको उद्देश्य चन्द्रनगर गाउँपालिकाका मद्रसाका सञ्चालक तथा शिक्षकलाई सफल अभ्याससँग परिचित गराउनु, मद्रसालाई राष्ट्रिय शिक्षा प्रणालीसँग थप प्रभावकारी रूपमा जोड्ने उपायबारे अनुभव आदानप्रदान गर्नु तथा व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारका लागि प्रेरित गर्नु हो । 

भ्रमण टोलीले जामिया इस्लामिया मद्रसामा अन्तरक्रिया सम्पन्न गरेको छ भने बिहीबार सुनसरी जिल्लाका विभिन्न मद्रसाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर