२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रदेश सरकारबारे सत्ता गठबन्धनमा सकस, मधेशमा कुरा मिल्यो, सुदूरपश्चिममा बाँकी

ADV
सुनिल आउजी
२०८१ जेठ २७ गते ०६:५५
प्रदेश सरकारबारे सत्ता गठबन्धनमा सकस, मधेशमा कुरा मिल्यो, सुदूरपश्चिममा बाँकी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार ५२ दिनसम्म बिस्तार हुन सकेको छैन । सत्ता गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादी केन्द्रले मन्त्री नपठाउँदा एकीकृत समाजवादीले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो ।

एमाले, माओवादी, नागरिक उन्मुक्तीका दुई सांसद र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घ सोडारीले नागरिक उन्मुक्तीका दुई जना बाहेक अरुलाई सरकारमा सहभागी गराउन सकेका छैनन् । मन्त्रालयको भागबन्डाका लागि अन्य प्रदेशमा एकीकृत समाजवादीको भूमिकालाई लिएर सत्तारुढ दलहरुले आशंका गर्दा मुख्यमन्त्री सोडारीलाई सरकार विस्तारमा सकस भएको हो ।

आफूहरुमाथि त्यस्तो शंका गर्न आवश्यक नरहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बताउँछन् । आफूहरु मधेश प्रदेशमा सत्ता गठबन्धनको निर्णयमा सहमत भएको र यो नै विश्वासको आधार भएको उनको भनाइ छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा कोशी कमिटीले आयोजना गरेको प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले कांग्रेस, जसपा नेपालसहितका दलले पुरानै गठबन्धन कायम राख्न प्रस्ताव गरेको तर आफूले प्रदेश र केन्द्रमा एउटै गठबन्धनमा रहनु उचित हुने भएकाले मधेश प्रदेशमा मुख्यमन्त्री पदको प्रस्ताव अस्वीकार गरेको बताए ।

‘मधेश प्रदेशमा हामीलाई मुख्यमन्त्री दिन प्रस्ताव आयो । यही पुरानै गठबन्धनमा बस्नुुस्, मुख्यमन्त्री लिनुस् । हिजो आइदिएको भए कति राम्रो हुन्थ्यो । बिहान पनि त्यही फोन, बेलुका पनि त्यही फोन आउँछ । केन्द्रमा एउटा र प्रदेशमा अर्को सरकारमा बस्नु उपयुक्त हुँदैन भन्ने हामीले सोच्यौैं’ नेपालले भने । 

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको समर्थनमा जनमत पार्टीका सतिश सिंह मुख्यमन्त्री भएका छन् । मधेशमा कुरा मिलेता पनि सुदूरपश्चिम प्रदेशमा भने विश्वासको वातावरण अझै नबनेको हो । 

नेताहरुका अनुसार मुख्यमन्त्री सोडारीले एमाले सरकारमा सहभागी नभए माओवादी र स्वतन्त्र सांसदलाई लिएर सरकार विस्तार गर्ने तयारी थालेका छन् । 

शुक्रवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सत्ता गठबन्धनको बैठकमा पनि मुख्यमन्त्री सोडारीले सरकारलाई पूर्णता दिन आग्रह गरेका थिए । तर, एमालेले त्यहाँ पनि तत्काल सरकारमा सहभागी हुने अवस्था नरहेको बताएको छ । 

‘माओवादीले सरकार विस्तारमा तीव्रता दिन ताकेता गरेको थियो एमालेले अझै सरकारमा सहभागी हुने नीति नरहेको जानकारी गराएको छ’बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

एमाले सांसद धर्म पाठक पनि अहिलेसम्म पार्टी सरकारमा सहभागी हुने बारे कुनै निर्णय नभएको बताउँछन् । 

‘हामीले पहिले नै सरकारलाई समर्थन गर्ने विश्वासको मत दिने तर, तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका थियौँ । त्यसपछि सरकारमा जाने भनेर अर्को निर्णय भएको छैन्’ उनले भने । 

केन्द्रबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने बारे कुनै सुझाव नआएको पनि उनले बताए । 

‘माओवादी सरकारमा सहभागी हुन तयार भएको देखिन्छ एमालेले केन्द्रमा छलफल र परामर्श गर्ने जनाएको छ’ नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले भने, ‘केन्द्रमा मन्त्रालयको भागबन्डा मिल्दासाथ यता सरकार विस्तार हुन्छ ।’ 

मुख्यमन्त्री कार्यालयको बैठकमा सहभागी माओवादी सांसद शिवसिंह ओलीले आफ्नो पार्टीबाट मन्त्री हुनेहरुको नाम नआएको कारण पार्टी सरकारमा सहभागी नभएको बताए । 

‘अहिलेसम्म सरकार विस्तारले पूर्णता पाइसक्नुपर्ने हो । बजेट निर्माण गर्ने बेला सरकार निर्माणमा अल्झिने कुरा ठिक होइन अर्को कुरा एमाले सरकारमा सहभागी नहुँदा माओवादी पनि नहुने भन्ने हुँदैन’  उनले भने ‘हाम्रो पार्टीबाट मन्त्रीको नाम नआएको हुँदा ढिलाइ भएको हो ।’

मुख्यमन्त्री सोडारीले माओवादी र स्वतन्त्रलाई भएपनि सरकारमा ल्याउन प्रयास गरिरहेका बेला स्वतन्त्र सांसद तारा जोशीले भने अहिले नै आफूले मन्त्री भइहाल्ने विषयमा कुनै निर्णय नगरेको बताउँछन् ।

‘म सत्ता पक्षमा छु, विश्वासको मत दिएको छु सरकारलाई समर्थन गरेको छु तर, मन्त्री हुने कुरामा कुनै निर्णय गरेको छैन्’ उनले भने । 

केन्द्रमा सत्तागठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगो नलाग्दा पनि प्रदेश सरकार विस्तारमा ढिलाइ भएको हो । ‘कुन मन्त्रालय कुन पार्टीलाई पर्ने हो त्यो टुंगो लागेको छैन त्यो टुंगिएको भए सरकारमा सहभागी हुने दलहरूबाट मुख्यमन्त्रीले मन्त्री नियुक्त गर्नुहुने थियो’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘हिजो पनि त्यहि विषयमा छलफल भएको हो ।’ 

ADVADV

सम्बन्धित खबर

Advertise