
पर्सा : लगातार पाँच दिनदेखि परेको वर्षाका कारण मधेश प्रदेशसहित पर्सा जिल्लाका विभिन्न क्षेत्रमा बाढीले जनजीवन प्रभावित बनेको छ । जिल्लाका सिकटा र ओरिया नदीमा पानीको सतह बढेपछि आसपासका बस्तीहरू डुबानमा परेका छन् भने सडक तथा यातायात सेवा समेत अवरुद्ध हुन थालेको छ ।
बाढीका कारण लंगडी–बिरगञ्ज र भिस्वा–बिरगञ्ज सडकखण्डमा सवारी आवागमन प्रभावित भएको स्थानीयले बताएका छन् । त्यस्तै, नदीमा आएको बाढीले हजारौं किसानका खेतमा रोपिएको धानबाली डुबानमा परेको छ ।
छिपहरमाई गाउँपालिकाका भिस्वा, जयमंगलापुर, बुढगमई, बंजारी तथा कालिकामाई गाउँपालिकाका सबैठवा, पोखरिया लगायतका क्षेत्रमा बाढीको पानी घरभित्र पसेको स्थानीयको भनाइ छ । लंगडी, बखरी, जगरनाथपुर, मुडली, रबिदास, असवारी, भलवहिया, मिर्जापुर, भिस्वा र जयमंगलापुर लगायत दर्जनौं गाउँ डुबानमा परेका छन् ।
स्थानीय किसान सुरेश साहका अनुसार निरन्तर वर्षाका बीच अधिकांश किसानले रोपाइँ सम्पन्न गरिसकेका थिए । तर, बाढीका कारण खेत डुबानमा परेका छन् भने केही स्थानमा बालुवाले धानबाली पुरिएको र नदी नजिकका खेतमा कटानसमेत भएको छ ।
बाढीका कारण कृषिमा ठूलो क्षति पुगेको भए पनि हालसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।