
नेपालमा गाँजा पूर्ण रूपमा प्रतिबन्धित छ । यसको खेती, उत्पादन, बिक्री र प्रयोग कानुनतः अपराध हो । तर नेपाल थाइल्यान्डमा उत्पादित गाँजा भारत पु¥याउने ‘ट्रान्जिट’ बन्दै गएको पाइएको छ । यो गम्भीर विषय हो । यो विषयमा सरकार जानकार छ । लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार दुई वर्षमा थाइल्यान्डबाट नेपाल भित्रिएको ३८९.७१ किलोग्राम गाँजा बरामद भएको छ । यो सामान्य घटना होइन । राज्यको सुरक्षा संयन्त्र र लागुऔषध नियन्त्रण नीतिका लागि यो गम्भीर चेतावनी हो । यी घटनामा ११७ अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ८३ जना भारतीय नागरिक छन् । यो कुल पक्राउको ७०.९४ प्रतिशत हो । यसले समस्या कहाँ छ र कसरी समाधान गर्न सकिन्छ भनेर केलाउने तथ्य समेत प्रदान गर्दछ । लागुऔषध नियन्त्रण ब्युरो स्वयं पनि थाई गाँजा नेपालमा खपतका लागि नभई भारत पुर्याउने उद्देश्यले ल्याइएको निष्कर्षमा छ । यसको अर्थ नेपाल तस्करीको नयाँ मार्गका रूपमा प्रयोग भइरहेको छ । यसकारण सरकारलाई गाँजा बरामद गरेपछि मौन बस्ने छुट छैन ।
नेपालमा पनि लुकीछिपी उत्पादन भएका गाँजा, चरेस भारततर्फ जाने गरेको सरकारी अधिकारीहरू बताउँछन् । यसबाहेक थाइल्यान्डमा उत्पादन भएका गाँजा नेपाल हुँदै भारततर्फ जाने गरेको नयाँ तथ्यले नयाँ खतरा देखाएको हो । नेपालमा पाइने गाँजा भनेको खेतमा फल्ने हो, जंगलमा आफैं उम्रिने हो । जानकारहरूका अनुसार थाइल्यान्डबाट आउने गाँजा हाइब्रिड हो, जो नेपालमा उत्पादन हुने भन्दा तीन–चार गुणासम्म कडा हुन्छ । यसकारण थाई गाँजा नेपाल हुँदै भारत लैजाने कार्य भइराखेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । अर्कोतर्फ थाइल्यान्डमा गाँजा उत्पादनले वैधता प्राप्त गरेको छ । यसको असर नेपालमा पनि देखिन थालेको हो । सन् २०२२ को जुन महिनामा थाई सरकारले गाँजा उत्पादन तथा बिक्रीमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । तर बेलायतलगायतका देशमा थाई गाँजाको अवैध कारोबार बढेसँगै यसै वर्षको जुन महिनादेखि चिकित्सकको प्रेस्क्रिप्सनमा मात्र बेच्न पाइनेसहितका नियम लागू गरेको छ । थाई सरकारले गाँजा उत्पादन तथा बिक्रीमाथिको प्रतिबन्ध फुकुवा गर्नु अगाडि थाइल्यान्डबाट नेपालमा गाँजा ल्याएर भारत लैजाने प्रवृत्ति देखिएको थिएन । तर, पछिल्लो समय थाइल्यान्डबाट नेपालमा ल्याइएका गाँजा भारततर्फ जाने क्रम बढ्दो छ ।
नेपालमै पनि गाँजा वैधानिक बनाउने विषयमा बहस भइरहेको छ । गाँजालाई नियमनसहित औषधि, कृषि र पर्यटनसँग जोड्न सकिने तर्क पनि छन् । नेपालमा गाँजा खुला गर्दा पर्यटक आगमन बढ्न सक्ने दाबी गर्ने गरिन्छ । यी बहस आफ्ना ठाउँमा जायज हुन सक्छन् । तर वैधानिकताको बहस र तस्करीको वास्तविकता एउटै विषय होइन । कानुनले प्रतिबन्ध लगाएको वस्तु देशको अन्तर्राष्ट्रिय तस्करी मार्ग बन्दैछ भने राज्यले नियन्त्रण गर्नुपर्छ । यस निम्ति सरकारले तस्करी रोक्ने गरी विमानस्थलको सुरक्षा, भन्सार निगरानी र अन्तर्राष्ट्रिय सूचना आदानप्रदानलाई प्रभावकारी बनाओस् ।