
रियाद, साउदी अरेबिया : नेपालकी चर्चित तथा लोकप्रिय गायिका रचना रिमालको बहुप्रतीक्षित सांगीतिक प्रस्तुति साउन २२ गते शुक्रबार साउदी अरेबियाको राजधानी रियादमा हुँदैछ । झापाली समाज–साउदी अरेबियाको तेस्रो महाधिवेशनको अवसरमा आयोजना गर्न लागिएको विशेष सांस्कृतिक कार्यक्रममा सहभागी हुन रचना बुधबार नै रियाद आइपुगेकी छन् । रचनालाई समाजका अध्यक्ष रबिन गिरी, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूले भव्य स्वागत गरेका थिए ।
लोकप्रिय गीतहरूका कारण लाखौं नेपाली दर्शक स्रोताको मन जितेकी रचनाले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछिन् । उनको आगमनसँगै साउदीमा रहेका नेपाली समुदायमा कार्यक्रमप्रति उत्साह बढेको छ भने सामाजिक सञ्जालमा समेत कार्यक्रमको व्यापक चर्चा भइरहेको छ ।
कार्यक्रम रियादको एक्जिट–१३ मा दिउँसो १२ बजेदेखि सुरु हुनेछ । स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । प्रवेश शुल्क २५ साउदी रियाल तोकिएको छ ।
झापाली समाज–साउदी अरेबियाका अध्यक्ष गिरीले साउदीमा रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई गायिका रचनाको प्रस्तुति सफल बनाउन आग्रह गरेका छन् । उनका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
अध्यक्ष गिरीले कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको बताए । कार्यक्रमबाट संकलित रकमबाट सम्पूर्ण खर्च कटाएर बचत हुने रकम वृद्धाश्रमलाई सहयोग गरिने उनले जानकारी दिए ।
साउदी अरेबियामा नेपाली श्रमिकहरूको राहत, उद्धार तथा विभिन्न सामाजिक अभियानमा सक्रिय झापाली समाजले आयोजना गरेको यस कार्यक्रमलाई नेपाली कला, संस्कृति, मनोरञ्जन र समाजसेवाको उत्कृष्ट संगमका रूपमा हेरिएको छ ।