
काठमाडौं : नेपाली मौलिक तिज संस्कृति, चेलीबेटीको माइतीप्रतिको आत्मीयता र पर्वको उल्लासलाई समेटेर तयार पारिएको नयाँ तिज गीत ‘कम्मरु भाँचौंला’ सार्वजनिक भएको छ । लोकप्रिय गायक तथा सर्जक मोतीराज खनालको यस सांगीतिक प्रस्तुतिलाई सोमबार चर्चित सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’ को सेटमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो ।
गायक खनालकै अध्यक्षतामा सम्पन्न सो समारोहमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष एवं वरिष्ठ कलाकार उत्तम केसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमलाई समाजसेवी तथा अभियन्ता प्राञ्जल मिश्रले सञ्चालन गरेका थिए ।
सो अवसरमा वरिष्ठ कलाकार पार्वती अधिकारी, इन्द्रेणीका अध्यक्ष तथा सञ्चालक कृष्ण कँडेल र ऋषिराम भुसाल लगायत विभिन्न कलाकार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो । समारोहमा उपस्थित अतिथिहरूले गीतको सिर्जनासँगै तिज संस्कृतिको मौलिकता जोगाउनुपर्ने र नेपाली लोकसंगीतको संरक्षणमा यस्ता सिर्जनाको भूमिका कस्तो रहन्छ भन्ने विषयमा समेत आफ्ना भनाइ राखेका थिए ।
औपचारिक उद्घाटनपश्चात् चर्चाको केन्द्रमा रह्यो, गीतको उच्च प्राविधिक तथा सांगीतिक पक्ष । ‘द म्युजिक एरा’ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा मोतीराज खनाल, बैकुण्ठ महत र रेखा पोखरेलले सुमधुर स्वर दिएका छन् । गीतको मर्मलाई न्याय गर्ने शब्दहरू मोतीराज खनाल र किरण पन्थीले कोरेका हुन् भने यसको संगीत सिर्जना स्वयं खनालले नै गरेका हुन् । लक्षु प्रकाश मल्लको उत्कृष्ट संगीत संयोजन तथा कृष्ण बाजुरालीको स्तरीय रेकर्डिङ र मिक्सिङले गीतको श्रव्य पक्षलाई अत्यन्तै प्रभावकारी बनाएको छ ।
अडियोको यही मिठासलाई पर्दामा जीवन्त रूप दिन निर्देशक तथा कोरियोग्राफर शिवाजी क्षेत्रीले निकै मेहनत गरेका छन् । भिडियोमा भुवन के पोखरेल, जुना कार्की, भगवान भण्डारी र रेणुका बरालको उत्कृष्ट अभिनय र आकर्षक नृत्य देख्न सकिन्छ । कलाकारहरूको प्रस्तुतिलाई मेकअप आर्टिस्ट शंकर सुमनको श्रृंगारले थप निखारेको छ भने सुनील राउत र उनको टोलीको छायांकन तथा प्रमोद बमको स्तरीय भिजुअल सम्पादन र रङ संयोजनले भिडियोलाई आकर्षक बनाएको छ। विभिन्न जिल्लाका चेलीहरूको सामूहिक सहभागिताले भिडियोमा तिजको मौलिक र सामूहिक रौनकता थपेको छ ।
‘कम्मरु भाँचौंला’ को भिडियोले एक रोचक र मर्मस्पर्शी पारिवारिक कथालाई प्रस्तुत गरेको छ । तिजको अवसरमा श्रीमती माइत जाने तयारीमा रहँदा श्रीमानले ‘यसपालि माइत नजाऊ, सँगै नाचौँला’ भन्दै फकाउने रमाइलो प्रसङ्गबाट भिडियो अगाडि बढ्छ । तर, जब माइतीबाट बुबाको फोन आउँछ, तब कथाले एउटा भावनात्मक र गहिरो मोड लिन्छ । यसले तिजमा छोरी-चेलीलाई माइती बोलाउने परापूर्वकालदेखिको परम्परा, बुबाआमाको निस्वार्थ माया र माइतीप्रतिको अटुट आत्मीयतालाई अत्यन्तै मार्मिक ढंगले चित्रण गरेको छ ।
पछिल्लो समय तिजगीतमा मौलिकता हराउँदै गएको बहस चलिरहेका बेला ‘कम्मरु भाँचौंला’ले परम्परागत तिजको भावनालाई आधुनिक प्रस्तुति र मनोरञ्जनसँग सुन्दर ढंगले जोड्ने प्रयास गरेको छ । तिजको मौलिक स्वाद, छमछमी नाच्न मिल्ने लय र पारिवारिक कथावस्तुका कारण यो गीतले आम दर्शक तथा श्रोताको मन जित्ने पूर्ण अपेक्षा गरिएको छ । यो गीत गायक मोतीराज खनालको आधिकारिक युट्युब च्यानलमार्फत विश्वभरका नेपाली संगीत प्रेमीहरूका लागि सार्वजनिक गरिएको हो ।