दीपक बहादुर खड्का/मध्यान्ह
विराटनगर, २६ कात्तिक । एउटा ठूलो आधुनिक टहरा छ । टहरामा ठूलठूला जेनेरेटरको घनीभूत आवाज । जेनेरेटरको मदत्तबाट जडित ठूलाठूला पंखा राखिएको छ । गर्मीमा हावा दिनका लागि वरिपरी पंखा एक नासले घुमिरहेका छन् । नुहाउनका लागि सावर । कोही सुतिरहेका छन् त कोही उठेर एकअर्कामा भलाकुसारी गर्दै गरेको जस्तै देखिन्छन् । परतिर औषधिको दराज पनि छ ।
कोही खादै पनि छन् । यसो झट्ट हेर्दा यो जो कोहीलाई अनौठो लाग्छ । होइन् गाईको फार्म पनि यत्तिको सुविधा सम्पन्न हुन्छ ? तर विराटनगर १२ निवासी उमेरले ५ दशक टेक्दै गरेका व्यवसायी गजेन्द्र शर्मा बञ्जरा भने विदेशिएर पनि जन्म थलोमा आएर त्यही आधुनिक टहरोमा कृषिलाई प्रविधिसँग जोडेर काम गर्ने अठोटका साथ गाई फार्म र ग्रिन हाउसमार्फत कृषिमा क्रान्ति गर्न आतुर छन् ।
विराटनगर १६ को दरैयास्थित बञ्जरा एग्रो सञ्चालन गर्दै आएका उनी कृषिलाई प्रविधिसँग जोडेर काम गर्दै आएका छन् । उनले भारतको हरियाणा र पञ्जावका होलेष्टन जातको जर्सी गाई ल्याइ गत अप्रिलबाट शुरु गरेको गाई फार्ममा हाल ११२ वटा गाई रहेका छन् । तीमध्ये आधा लैनो छन् । एक बेतमा ६ हजार लिटरसम्म दुध दिने उनको फार्ममा दैनिक ८ लिटर देखि ३८ लिटर सम्म दुध दिने गाई रहेका छन् । करिब ३२ करोड लगानी भैसकेको उनको फार्ममा २०० वटा गाई राख्न सकिने आधुनिक फार्म हाउस रहेको छ । झण्डै ५ विघामा गाई फार्मसहित आधुनिक कृषि फार्म पनि छेउमा रहेको छ । गाई फार्मबाट उत्पादित जैविक मलको वरिपरी धान बालीमा लगाएको धान समेत लहलहाउँदो छ ।
स्वीजरल्याण्डबाट होटल व्यवस्थापनमा मास्टर गरेका उनी पढाइसकिएपछि चीन सरकार मातहतको विश्वको दोस्रो ठूलो होटल हिल्टन व्राण्डमा जेनरल म्यानेजरका रुपमा जागिर खाएर त्यही कम्पनीमार्फत इजरायल मध्य पूर्व युरोप र चीन लगायतका विभिन्न देशमा गई काम गरेको अनुभव छ ।
तर त्यहाँ उनको मन धेरै अडिन सकेन । पैसा मात्र सबै थोक होइन् भन्ने लागेर अन्ततः आफ्नै देशमा कृषि क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्कि गाई फार्म शुरु गरेको उनी बताउँछन् । चीनमा ७ वर्ष बसेर सिकेको सीपलाई नेपालमा प्रयोग गरिरहेका छन् । ५ जना दाजुभाई मध्येका उनी साइलो भाई हुन् । माइलो राजेन्द्र र काइलो धर्मेन्द्रसँगै फर्ममा जोडिएका छन् ।
प्रविधिमैत्री गाई फार्म
उनले गाईलाई मानिससँग नभई प्रविधिसँग नजिक्याउने प्रयास गरेका छन् । उनका अनुसार गाईलाई सेन्सरमार्फत सञ्चालन गरिन्छ । इजरायलमा बनेको सफ्टवेयरको प्रयोग गरी यो प्रविधि अनुसार गाईको खुट्टामा पेडोमिटर लगाइन्छ । सो पेडोमिटरमा सेन्सर हुन्छ । सेन्सरले गाईको एण्टेनासँग कुरा गर्छ । गाईको पुरै अवस्थाको बारेमा अध्ययन गर्दछ । गाईलाई के भयो ? के हुने वाला छ ?, वा गाई ब्याउने भएको छ वा छैन ?, बिरामी हुन लागेको छ की सो को बारेमा जानकारी दिन्छ ।
सो अनुसार यदि समस्या भएमा तत्काल डाक्टरले उपचार गर्दछन् । गाई बिरामी हुन लागेको वा तापक्रम बढीरहेको बारेमा जानकारी दिन्छ ।
‘गाई ब्याएपछि ७५ दिनभित्र गाईले बाच्छो खोज्छ । गाईको ७५ दिनभित्र एआइ गर्नुपर्छ । यदि भएन भने किन भएन ? सो प्रविधिले जानकारी दिन्छ । गाईलाई मिल्कीङ पार्लरमा लगेर मिल्किङ गरिसकेपछि भित्र जाने र बाहिर निस्कने ढोका हुन्छ । त्यहाँ गेटमा सेन्सर राखिएको हुन्छ । सेन्सरबाटै गाई ब्याउने भए नभएको सो को जानकारी दिन्छ । यसबाट कम जनशक्तिमा पनि गाइको राम्रो हेरचाह हुने गर्दछ । समय र श्रमको बचत हुन्छ’ उनले भने ।
‘माग अनुसार दुुध दिन सकिएको छैन’
दैनिक १ हजार लिटर उत्पादन गर्दै आएको सो फार्मले मार्च महिनासम्ममा १५ सय लिटर पु¥याउने लक्ष्य राखिएको बञ्जराले बताए । उत्पादित दुध स्थानीय बजारमै खपत हुने हुँदा माग अनुसार बजारमा दुध पु¥याउन सकिरहेका छैनन् । आजका दिनसम्म प्रतिमहिना १२ लाख नोक्सान व्यहोर्दै आएका बञ्जाराले अबका केही महिनादेखि नाफा हुनेमा विश्वास लिएका छन् । उनले शुरुको २ वर्ष नाफा नहुने अनुमान पहिले नै लगाएका थिए । २ वर्षपछि भने क्रमिक रुपमा फर्म नाफा बढ्दै जाने बताउँछन् ।
दानाको रुपमा साइलेज/रेड नेपियर र सुपर नेपिएर
मकै रोपेको ८० देखि ८५ दिन भित्र पाक्नु अगाडी नै हरियोमा मकैको भागमा काटेर टुक्रा पारेर बंकरमा गुन्द्रक कुवाएझै कुवाइन्छ । जसलाई साइलेज भनिन्छ । साइलेज खानाको रुपमा दिइन्छ । घाँसको रुपमा अष्टिेलियाबाट विकसित भएको घाँस सुपर नेपियर र रेड नेपियर प्रयोग गरिन्छ । जसका लागि उनले सितागञ्जमा ३० विघा जग्गा भाडामा लिइ प्रतिवर्ष ५० हजारका दरले भाँडा तिर्दै आएका छन् । यो घाँस महंगो नभएतापनि हेरविचारमा भने ध्यान दिनुपर्ने उनी बताउँछन् । समयमा रोप्ने समयमा काट्ने गर्नुपर्छ । साधारण घासमा प्रोटिन ६ देखि ८ प्रतिशत हुने तर सुपर नेपियर र रेड नेपियरमा १६ देखि १८ प्रतिशत प्रोटिन हुन्छ । जसले दुधको मात्र बढाउन सहज हुन्छ । त्यही भएर हेरविचारमा ख्याल गर्नुपर्ने हुन्छ ।
कृषि कर्जामा अनुदान स्वरुप भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश १ ले रु.५ करोड रकम बाहेक अन्य सहयोग प्रदेश सरकारबाट नपाएको बताए । ८.५ प्रतिशतबाट १५ प्रतिशत व्याज पुगिसकेपनि दुधको भाउ जहाँको त्यहि रहेको उनको गुनासो छ ।
क्रिम ननिकालिएको दुध हाल प्रति लिटर ८० का दरले बिक्री हु“दै आएको छ । त्यही दुध प्याकेजिङ गर्ने मेसिन ल्याइ पास्चाराइजेसन गरी सकेपछि बजारमा ९० देखि १०० प्रतिलिटरसम्म बिक्री गर्न सकिने उनको दावी छ । दुध प्रतिदिन १५ सय लिटर बिक्री भएमा लागत उठ्ने र नाफा हुनेछ । विराटनगरको चाँदनी चौकमा उनले उत्पादन गरेका तरकारी र दुधको खुदा पसल समेत सञ्चालनमा ल्याएका छन् ।
यो वर्षदेखि भारतबाट ल्याएका गाइको नश्ल सुधार विकास गर्न लागेकोले सफल भएमा प्रति गाई २ लाख ५० हजार पर्नेमा लागत घटेर आधा हुन जाने सञ्चालक बञ्जराले बताए । विश्वको महङ्गो होटलको जेनरल मेनेजर जस्तो सम्मानित पेशामा काम गरेको अनुभव बटुलेका बञ्जराले हाल फार्ममा ३२ जनालाई अस्थायी रुपमा रोजगारी समेत दिएका छन् ।
शुरुका दिनमा साथीभाई लगायत शुभचिन्तकहरुले विदेशी डिग्री लिएर यस्तो कृषि पेशा के अगालेको ? भन्नेहरु नै अहिले हौसला दिन आउने बताउँछन् । पूर्णरुपमा सञ्चालनमा आउँदा फर्मको लागत ५० करोड पुग्ने उनी बताउँछन् । निकट भविष्यमा बञ्जरा एग्रोलाई ब्राण्डको रुपमा विकसित गर्ने योजनामा उनी रहेका छन् । खाद्यान्नमा परनिर्भरता रहेको नेपालमा उनी जस्तै अन्य युवाले पनि आफ्नो सीपको यसरी सिको गरी लागि पर्ने हो भने दुध र तरकारी आयातमा कमी आइ राज्यलाई नै कृषि क्षेत्रको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies