२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

देउवाको गर्जन- राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?

Nada
२०८३ साउन २८ गते १६:०६
Shares
देउवाको गर्जन- राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?

काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध विगतमा भएका कानुनी तथा राजनीतिक दबाबहरूलाई स्मरण गर्दै आफूलाई कसैले पनि दबाउन नसक्ने बताएका छन् । बिहीबार स्वदेश फर्किएका उनले काठमाडौंको चुनदेवीस्थित संस्थापन इतरको सम्पर्क कार्यालयमा नेता–कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

ncell

देउवाले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा आफूविरुद्ध मुद्दा दायर गरिए पनि कुनै ठोस प्रमाण नदेखिएको दाबी गरे । अन्तर्राष्ट्रिय अदालतसम्म मुद्दा पुगेको उल्लेख गर्दै उनले त्यहाँबाट समेत आफूलाई पक्राउ नगर्ने निष्कर्ष आएको बताएका छन् । त्यस्तै, नेपालका अदालतहरूले पनि आफू र पत्नी डा. आरजु राणा देउवालाई पक्राउ नगर्न आदेश दिएको उनको भनाइ थियो ।

उनले आफूविरुद्ध पटक–पटक सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गरिए पनि कुनै अनियमितता प्रमाणित नभएको दाबी गरे । “धेरै पटक अनुसन्धान भयो, तर केही भेटिएन,” उनले भने, “५० वर्षको राजनीतिक जीवनमा मैले एक रुपैयाँ पनि अनियमित गरेको छैन ।”

आफूविरुद्ध षड्यन्त्र भइरहेको आरोप लगाउँदै देउवाले त्यसबाट विचलित नहुने स्पष्ट पारे । अदालत जान आफू कहिल्यै नडराउने भन्दै उनले न्याय प्रणालीप्रति विश्वास व्यक्त गरे । “अदालत र जनताले सबै कुरा बुझिसकेका छन्,” उनले भने ।

सम्बोधनका क्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसंगसमेत उल्लेख गरे । आफूलाई विगतमा राजतन्त्रले समेत दबाउन नसकेको दाबी गर्दै देउवाले प्रश्न गर्दै भने, “राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?”

उनले लोकतन्त्र र गणतन्त्र जनताको इच्छाबाट स्थापित भएको भन्दै यसलाई कसैले पनि उल्ट्याउन नसक्ने बताए । “यो व्यवस्था कुनै एक व्यक्तिको चाहनाले आएको होइन, जनताले चुनेको संविधानसभाबाट आएको हो,” उनले भने, “देशको मालिक जनता हुन्, र अन्ततः उनीहरूको निर्णय नै निर्णायक हुन्छ ।”

देउवाले अन्त्यमा समयले नै सत्य उजागर गर्ने उल्लेख गर्दै आफूविरुद्ध लाग्नेहरूलाई इतिहासले जवाफ दिने बताए ।

ताजा खबर

सम्बन्धित खबर