
काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेले आफ्ना सांसदलाई त्यसको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
एमाले संसदीय दलको बिहीबार बसेको बैठकले मुख्यमन्त्री शाहले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकार गर्न सांसदहरूलाई ह्विप जारी गरेको हो । संसदीय दलका नेता राजेन्द्रसिंह रावलका अनुसार प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुनसमेत सांसदहरूलाई निर्देशन दिइएको छ ।
एमालेले साउन ३१ गते मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश सरकार अल्पमतमा परेको हो । संवैधानिक व्यवस्था अनुसार समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने वा पदबाट हट्नुपर्ने अवस्था हुन्छ । उक्त समय सीमा बिहीबार पूरा हुँदै छ ।
मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारीबारे प्रदेश सभाका सभामुखलाई जानकारी गराएपछि एमालेले आफ्नो संसदीय दलको धारणा सार्वजनिक गरेको हो । तर, नेपाली काँग्रेसभित्र भने मुख्यमन्त्रीले विश्वासको मत लिने वा पदबाट राजीनामा दिने भन्ने विषयमा अझै निर्णय हुन बाँकी छ ।