
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र युवा नेतृत्वलाई आत्मसात गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उपसभापति शर्माले परिवर्तन र युवा सहभागितालाई विधि र पद्धतिअनुसार अगाडि बढाउनुपर्ने बताएका हुन् ।
पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई स्वागत गर्दै उपसभापति शर्माले देउवाबाट सबै पक्षलाई समेट्ने र एकताको सन्देश प्रवाह हुने अपेक्षा गरिएको बताए ।
देउवाले आफ्नो लिखित अभिव्यक्तिमा परिवर्तनलाई आत्मसात गर्ने र युवालाई अगाडि बढाउने प्रतिवद्धता जनाएको सन्दर्भ उल्लेख गर्दै शर्माले उक्त विचारलाई अहिलेको सम्मेलनको केन्द्रमा राखिनुपर्ने बताए ।
विधि र पद्धतिबाट आएको युवा नेतृत्वलाई स्वीकार गर्न नसक्नुले पार्टीभित्र गम्भीर प्रश्न उब्जाउने उनको तर्क छ । उनले देशको कार्यकारी प्रमुखका रूपमा युवालाई स्वीकार्न सक्नेले पार्टीको नेतृत्वमा पनि सोही उमेर समूहका व्यक्तिलाई स्वीकार गर्न उदार हृदय राख्नुपर्ने आवश्यकता रहेको बताए ।