२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

जेनजी आन्दोलनको आडमा गगन-विश्वले पार्टी कब्जा गर्न खोजे : विमलेन्द्र निधि

Nada
२०८३ साउन ३० गते १३:१५
Shares
जेनजी आन्दोलनको आडमा गगन-विश्वले पार्टी कब्जा गर्न खोजे : विमलेन्द्र निधि

काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन इतर पक्षले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘जेनजी’ आन्दोलनलाई प्रयोग गरेर पार्टी नेतृत्व कब्जा गर्न खोजेको आरोप लगाएको छ ।

ncell

१५औँ महाधिवेशन तयारी समितिको राष्ट्रिय भेलामा संयोजक विमलेन्द्र निधिले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महामन्त्रीद्वयका पछिल्ला गतिविधिलाई अवैधानिक, अराजक र षड्यन्त्रमूलक भन्दै आलोचना गरिएको छ ।

प्रतिवेदनमा जेनजी आन्दोलनपछि थापा र शर्माले पार्टी सभापति शेरबहादुर देउवाप्रति सहानुभूति नदेखाएको तथा संसद् विघटन र नयाँ सरकार गठनका लागि वातावरण बनाउन भूमिका खेलेको आरोप लगाइएको छ। निर्वाचनको मुखमा विशेष महाधिवेशन आह्वान गर्नु पनि पार्टी विभाजन र नेतृत्व कब्जा गर्ने प्रयास भएको संस्थापन पक्षको दाबी छ ।

विशेष महाधिवेशन विधानविपरीत भएको जिकिर गर्दै प्रतिवेदनमा त्यसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयमाथि पनि प्रश्न उठाइएको छ। सर्वोच्च अदालतले आयोगको निर्णय पुनरावलोकन गर्न अनुमति दिएपछि देउवा नेतृत्वको कार्यसमितिले निरन्तरता पाउने विश्वास संस्थापन पक्षले व्यक्त गरेको छ । 

निधिले कांग्रेसको मौलिक विचार र बीपी कोइरालाको लोकतान्त्रिक समाजवादलाई कमजोर पार्ने प्रयास भएको भन्दै पार्टीको नेतृत्व हस्तान्तरण विधानसम्मत प्रक्रियाबाट हुनुपर्ने बताएका छन् । भेलाले १५औँ महाधिवेशन नियमित प्रक्रियाबाट देउवाकै नेतृत्वमा सम्पन्न गर्ने घोषणा गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर