
काठमाडौँ : फागुन २१ गते सम्पन्न निर्वाचनपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक झापा र इलाम पुगेका छन् । शनिबार झापाबाट इलामको फिक्कल पुगेका ओलीले आदिवासी जनजाति महासङ्घको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ ।
ओलीले इलाममा पार्टी कार्यकर्तासँग भेटघाट गर्नेछन् भने आइतबार झापामा हुने कार्यक्रममा सहभागी हुने एमाले नेता महेश बस्नेतले जानकारी दिए । ओलीसँगै एमाले सचिव शेरधन राईलगायत नेताहरू पनि इलाम पुगेका छन् ।
यसैबीच, एमालेले स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गर्न लागेको ‘मिसन जनजागरण अभियान’ आइतबार झापाबाट सुरु गर्ने भएको छ । अभियान देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन गरी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तार गर्ने एमालेको तयारी छ ।