
काठमाडौं : कांग्रेस पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र विधिको सर्वोच्चता कायम रहने बताएका छन् ।
उनले पार्टीभित्र देखिएका विवाद वा असहमतिलाई लिएर पार्टी विभाजन हुने निष्कर्षमा पुग्न हतार गर्न नहुने धारणा राखे । पार्टीका विषयमा निर्णय प्रक्रिया विधि र कानुनी व्यवस्थाअनुसार अघि बढ्ने उनको भनाइ थियो ।
राजनीतिमा आधिकारिक निर्णय गर्ने अधिकार सम्बन्धित संवैधानिक तथा कानुनी निकायसँग मात्र रहने उल्लेख गर्दै उपसभापति शर्माले त्यसबाहेकका टिप्पणी वा दाबीलाई अन्तिम निर्णयका रूपमा लिन नहुने बताए ।
उनले खेलको उदाहरण दिँदै मैदानमा पहेँलो वा रातो कार्ड देखाउने अधिकार दर्शकलाई नभई रेफ्रीलाई मात्र हुने बताए । त्यसैगरी राजनीतिमा पनि आधिकारिक निर्णय लिने वा ‘कार्ड’ देखाउने अधिकार निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मात्र रहेको उनको तर्क थियो ।
पार्टीभित्रको अवस्थालाई लिएर विभिन्न आशंका र अड्कलबाजी भइरहे पनि विधि, विधान र कानुनी प्रक्रियालाई सर्वोच्च मान्दै अघि बढ्ने उनले स्पष्ट पारे ।