
काठमाडौं : म्युजिक भिडियो ‘सिम सिम पानी’को छायांकन सम्पन्न भएको छ । आकर्षक कथा, नेपाली मौलिक परिवेश र सुन्दर दृश्यलाई समेटिएको यस भिडियोको छायांकन गागलफेदीस्थित सुन्दर फिल्म रिसोर्टमा गरिएको हो ।
उपेन्द्र पन्तको स्वर तथा शब्द रहेको गीतमा गंगा सोनामको महिला स्वर रहेको छ । भिडियोका निर्माता उमा गौचन र सरोज पाण्डे हुन् भने बाल कलाकारका रूपमा सान्युग गौचन र समिया कार्कीको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी दावा तामाङले गरेका छन् भने निर्देशन नितिन चन्दले गरेका हुन् ।
भिडियोमा अभिनेत्री गरिमा शर्मा र उदाउँदै गरेका अभिनेता सन्दीप बाबु लोहनीलाई मुख्य जोडीका रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै, सरोज पाण्डे ‘काका’को भूमिकामा आकर्षक तथा अभिभावकीय व्यक्तित्वका रूपमा देखिएका छन् । वरिष्ठ तथा चर्चित कलाकार हिउँबाला गौतम ‘सानीआमा’को भूमिकामा प्रस्तुत भएकी छन् ।
गागलफेदीको प्राकृतिक सौन्दर्य, नेपाली मौलिक जीवनशैली र ग्रामीण परिवेशलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोका सेटका दृश्यहरू निकै आकर्षक देखिएको निर्माण टोलीले जनाएको छ ।
‘सिम सिम पानी’ तीज पर्वपछि सार्वजनिक गर्ने तयारी गरिएको बताइएको छ । मौलिक नेपाली स्वाद, आकर्षक कलाकारको जोडी, पारिवारिक कथा र सुन्दर दृश्य समेटिएको यो परियोजना यस वर्षका प्रतीक्षित म्युजिक भिडियोमध्येमा पर्न सक्ने अपेक्षा गरिएको छ । तीजपछि ‘सिम सिम पानी’ कस्तो रूपमा आउँछ-त्यो भने हेर्न बाँकी नै छ ।