
काठमाडौं : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अहिले आफ्नो पार्टीको प्राथमिकता सरकार परिवर्तन गर्ने वा सरकारमा जाने नरहेको बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदीय प्रक्रियाबाट तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्ट बहुमत रहेकाले उसको आन्तरिक विवादबाट उत्पन्न हुने राजनीतिक परिस्थितिमा एमालेले हस्तक्षेप नगर्ने उनको भनाइ थियो ।
भट्टराईले सरकारका कामकारबाहीप्रति जनअसन्तुष्टि बढ्दै गएको दाबी गर्दै गलत गतिविधि जारी रहे जनस्तरबाट प्रतिवाद हुन सक्ने बताए । यद्यपि सडकबाट सरकार परिवर्तन हुने अवस्था दुर्भाग्यपूर्ण हुने उल्लेख गर्दै एमाले त्यसको पक्षमा नरहेको स्पष्ट पारे ।
उनका अनुसार एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी राष्ट्रिय भेला आयोजना गर्न लागेको हो । भेलाले सरकारका कामकारबाहीको समीक्षा गर्दै जनविरोधी निर्णय र गतिविधिविरुद्ध दबाब सिर्जना गर्नेछ ।