२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

शंकास्पद दुईवटा गाडीसहित एक जना पक्राउ

६ लाख ५० हजार लिएर गाडी नामसारी नगरेपछि खुल्यो शंकास्पद कारोबार

Nada
विनोद निगम
२०८३ कार्तिक ३० गते १८:००
Shares
शंकास्पद दुईवटा गाडीसहित एक जना पक्राउ

नवलपरासी : पश्चिम नवलपरासीमा पुरानो गाडी बिक्री गर्ने बहानामा शंकास्पद कारोबार गरेको आरोपमा प्रहरीले दुईवटा सवारीसाधनसहित एक जनालाई पक्राउ गरेको छ । गाडी बिक्रीका लागि रकम लिए पनि नामसारी गर्न आनाकानी गर्दै अर्कै गाडीका कागजात उपलब्ध गराएपछि सवारीसाधनको पहिचानमै कैफियत भेटिएको हो ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका–१४ कुइयाँ घर भई हाल बर्दघाट नगरपालिका–४ बाढीपीडित क्षेत्रमा बस्दै आएका ३६ वर्षीय विजय हरिजन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार हरिजन र बर्दघाट नगरपालिका–९ भुताहा निवासी ४८ वर्षीया दुर्गा गुरुङबीच बा.११ च. ८१९५ नम्बरको सुजुकी स्विफ्ट डिजायर (SWIFT VDI) गाडी १२ लाख रुपैयाँमा खरिद–बिक्री गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार गुरुङले पटक–पटक गरी हरिजनलाई ६ लाख ५० हजार रुपैयाँ बुझाइसकेकी थिइन् ।

बाँकी रकम बुझाएर गाडी आफ्नो नाममा नामसारी गरिदिन आग्रह गर्दा हरिजनले उक्त गाडी पास गर्न नमिल्ने बताएपछि शंका उत्पन्न भएको थियो । त्यसपछि उनले बा.१५ च. ५१८१ नम्बरको रातो रङको हुन्डाई आई–१० गाडी र त्यससँग सम्बन्धित कागजात उपलब्ध गराएको प्रहरीको भनाइ छ ।

तर, गाडी र त्यसका कागजात जाँच गर्दा सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन तथा च्यासिस नम्बर वास्तविक सवारीसाधनमा रहेको नम्बरभन्दा फरक भेटिएको थियो । सवारीसाधनको पहिचान खुलाउने महत्त्वपूर्ण विवरणमै फरक देखिएपछि गुरुङले उक्त गाडी चोरीको हुन सक्ने आशंका गर्दै इलाका प्रहरी कार्यालय बर्दघाटमा जानकारी गराएकी थिइन् ।

उक्त सूचनापछि प्रहरीले हरिजनलाई दुवै सवारीसाधनसहित नियन्त्रणमा लिएको हो । एउटा गाडी बिक्री गर्ने सहमति गरी रकम लिएको, नामसारी गर्न आनाकानी गरेको र त्यसको सट्टा अर्कै गाडीका कागजात उपलब्ध गराएको घटनालाई प्रहरीले शंकास्पद कारोबारका रूपमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन थापाले हरिजनलाई दुवै गाडीसहित नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रहरीले दुवै सवारीसाधनको वास्तविक अवस्था, दर्ता कागजातको वैधता, इन्जिन तथा च्यासिस नम्बरमा देखिएको भिन्नता र सम्भावित चोरीसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धानबाट सवारीसाधनको वास्तविक स्रोत तथा कारोबारमा अन्य व्यक्तिको संलग्नताबारे समेत खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।

यस घटनाले पुराना सवारीसाधन खरिद–बिक्री गर्दा दर्ता कागजात, इन्जिन नम्बर र च्यासिस नम्बर अनिवार्य रूपमा रुजु गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर