२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

जोखिम न्यूनीकरणसँगै उद्धार र राहत व्यवस्थापन प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

Nada
२०८३ साउन ३१ गते १५:०९
Shares
जोखिम न्यूनीकरणसँगै उद्धार र राहत व्यवस्थापन प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

काठमाडौँ : सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्का घटनाबाट हुने जनधनको क्षति घटाउन पूर्वतयारी, सूचना प्रणाली र प्रतिकार्य संयन्त्रलाई थप प्रभावकारी बनाउने भएको छ । मुख्यमन्त्री खगराज भट्टले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले प्रदेशअन्तर्गतका सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

ncell

मुख्यमन्त्री भट्टले आइतबार आन्तरिक मामिला मन्त्रालयका सचिव तेजप्रकाश जोशीसँग प्रदेशको विपद् जोखिमको समग्र अवस्था, जोखिममा रहेका क्षेत्र, पूर्वतयारीका गतिविधि तथा उद्धार र राहत व्यवस्थापनसम्बन्धी जानकारी लिएका थिए । सो क्रममा विपद् प्रतिकार्यका लागि प्रदेश सरकारको तयारी र उपलब्ध संस्थागत संयन्त्रबारे समेत छलफल भएको थियो ।

ब्रिफिङका क्रममा सम्भावित विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि अपनाइएका उपाय, आवश्यक स्रोत–साधनको उपलब्धता तथा प्रदेशमा परिचालित हुनसक्ने प्रतिकार्य संयन्त्रको अवस्थाबारे मुख्यमन्त्रीलाई जानकारी गराइएको थियो ।

मुख्यमन्त्री भट्टले विपद्पछि तत्काल उद्धार र राहतमा परिचालन गर्न सकिने जनशक्ति तथा सामग्रीको व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा, उद्धार सामग्री तथा अन्य अत्यावश्यक सहायता समयमै उपलब्ध गराउने गरी व्यवस्थापन चुस्त राख्न उनले जोड दिएका छन् ।

त्यस्तै, जोखिमयुक्त क्षेत्रको नियमित निगरानी तथा सम्भावित घटनासम्बन्धी सूचना संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा पनि मुख्यमन्त्रीले जोड दिएका छन्। पूर्वसूचना प्राप्त भएलगत्तै सम्बन्धित निकाय परिचालित हुने व्यवस्था मिलाउन उनले निर्देशन दिएका हुन् ।

प्रदेश सरकार, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन संरचना र सुरक्षा निकायबीच जिम्मेवारी स्पष्ट हुने गरी समन्वय कायम गर्नुपर्ने मुख्यमन्त्री भट्टको भनाइ छ । विपद्को समयमा जिम्मेवारी दोहोरिने वा कुनै निकायबीच समन्वयको कमी देखिने अवस्था आउन नदिन सम्बन्धित मन्त्रालय तथा कार्यालयले आफ्नो भूमिकाअनुसार सक्रियता बढाउन उनले निर्देशन दिएका छन् ।

विपद् व्यवस्थापनलाई तत्कालीन प्रतिकार्यमा मात्र सीमित नराखी जोखिम पहिचान, पूर्वसूचना, स्रोत व्यवस्थापन र अन्तरनिकाय समन्वयलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा प्रदेश सरकारले जोड दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर