२०८३ असोज १५ गते बिहिवार / Oct 01 , 2026 , Thursday
२०८३ असोज १५ गते बिहिवार

बिपीलाई आफू अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ : गगन थापा

Nada
२०८३ साउन ३१ गते १७:००
Shares
बिपीलाई आफू अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय बिपी कोईरालाका विचारलाई आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन् । 

ncell

आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले बिपी कोइरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति कांग्रेसभित्र देखिएको बताएका हुन् ।

पछिल्लो समय कांग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा बिपी कोइरालालाई सम्झने गरेको टिप्पणी गरे । कांग्रेस ईतरपक्षलाई लक्षित गर्दै उनले नेताहरूले आफ्ना राजनीतिक निर्णय आफैँ गर्न नसकेर बिपीको नामको सहारा खोजेको आरोप लगाए । 

आफूलाई जहाँ चाहिन्छ, त्यहाँ बिपी कोइरालालाई प्रयोग गर्ने प्रवृत्तिले बिपीको वास्तविक विचारलाई कमजोर बनाउने उनको भनाई छ । बिपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने उनले बताए । 

बिपीको आह्वानमा आफ्नो परिवार र व्यक्तिगत जीवन त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूले लेख्ने पुस्तक, दिने अभिव्यक्ति र सुनाउने अनुभवले बिपीको वास्तविक विचार र राजनीतिक यात्रालाई बुझ्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।  

उनले भने, पछिल्लो समयको हाम्रो परम्परा के रह्यो भने आफूलाई जहाँ निर चाहिन्छ, बिपी कोइरालालाई त्यहाँ निर प्रयोग गर्ने । म अहिले पनि हेरिरहेको छु, सुनिरहेको छु, ठाउँ ठाउँमा भएका छलफलहरूमा, बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको सन्दर्भ अहिले एकदम व्यापक आइरहेको छ । नेताहरूले फेरि रातारात बिपीलाई सम्झनुभएको छ । रातारात बिपीलाई सम्झिदा यस्तो ट्रान्ज्याक्सन यहाँ भित्रको अहिले के गर्नु परेको छ, कोसँग मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु परेको छ, फेरि हिम्मत छैन फेरि, आफैँ आएर भन्ने । म यसो गर्छु भन्ने हिम्मत छैन । त्यो हिम्मत नभएपछि के हुन्छ भने कसलाई सम्झने भन्दा बिपीलाई सम्झने । बिपी त आउनुहुन्न अब बुझाउन, त्यसैले यो बेलामा को आइदिनुपर्छ अगाडि ? धर्म गौतमहरू आइदिनुपर्छ । तिमीहरूले भनेको जस्तो बिपी होइन है, बिपी हामीले पनि बुझेका छौँ । धेरै प्राइभेटाइज गर्न दिनुहुन्न, बिपी कोइरालालाई कसैले, बिपीलाई वा गणेशमानलाई कसैले यो घर भित्र कैद गर्न दिनुहुन्न । आज बिपीलाई मिसकोड हुँदै गर्दा बिपीको अपव्याख्या हुँदै गर्दा बिपीको आह्वानमा आन्दोलनमा उत्रेकाहरू अगाडी आएर बुझाउनुपर्छ, हामीसँग त्यो आधिकारिकता हुँदैन, हामीलाई तिमीहरूले देख्या थियौँ, बिपी भन्दा छैन भन्नुपर्ने हुन्छ, कहिलेकाहीँ कुराकानी गर्न ३ जना बस्यो भने बिपीले यसो भन्नुभएको थियो भन्नुहुन्छ, अब कहीँ पढेको पनि छैन, सुनेको पनि छैन, भन्नुभएको छ भनेपछि हो की भन्नुपर्‍यो । त्यसैले साँच्चिकै नो बेलामा अभियान्ताहरु थिए, उहाँले बिपीको बारेमा भनिदिनुपर्छ ।’

बिपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै उनले लोकतन्त्र र सामाजिक न्यायप्रतिको बिपीको मूल प्रतिबद्धता कहिल्यै परिवर्तन नभएको बताए । आर्थिक विकासका विषयमा पनि बिपीका विचारलाई एउटै प्रसंगमा सीमित गर्न नहुने उनको भनाइ छ । उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे बिपीले फरक समयमा राखेका धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ता (एआई) को सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर