
काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयमा सरकारको कार्यसम्पादन प्रभावकारी हुन नसकेको आरोप लगाएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै राईले सरकारका विभिन्न मन्त्रालयको काम, प्राथमिकता र जबाफदेहितामाथि प्रश्न उठाएका हुन् । प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्रालयका मन्त्रीसम्मले संवेदनशील सार्वजनिक मुद्दामा अपेक्षित जिम्मेवारी पूरा गर्न नसकेको उनको दाबी छ ।
राईले सीमा सुरक्षा, शान्ति तथा सुरक्षा, कृषि सामग्रीको उपलब्धता, खाद्यान्न आपूर्ति, रोजगारी विस्तार र बजार मूल्य नियन्त्रणजस्ता विषयलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने बताए । जनताले भोगिरहेका यस्ता समस्यामा राज्यको उपस्थिति प्रभावकारी देखिनुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई सरकारको कामकारबाही र जनसरोकारका विषयमा सांसदहरूले उठाएका प्रश्नको स्पष्ट तथा विषयगत जवाफ दिनुपर्ने मागसमेत राईले राखे ।
भूमि व्यवस्थापनसम्बन्धी विषयमा उनले सुनसरीको रामधुनी नगरपालिका-७ मा रहेको ६४ बिघा जग्गा भू-माफियाले आफ्नो नाममा पारेको भनिएको विषय तत्काल छानबिन गरी प्रभावित बस्तीका नागरिकलाई न्याय दिलाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराए ।
त्यसैगरी, धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको ठूलो रकम जोखिममा परेको उल्लेख गर्दै उनले पीडितको रकम फिर्ता हुने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।
सहकारी पीडितले रकम फिर्ता नपाउने, न्यायिक प्रक्रियाबाट अपेक्षित न्याय प्राप्त गर्न कठिन हुने तथा सर्वसाधारणले सहज रूपमा स्वास्थ्य उपचारसमेत पाउन नसक्ने अवस्था राज्यको जवाफदेहितासँग जोडिएको राईको भनाइ थियो । सरकार संसद्प्रति र संसद् जनताप्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए ।
विकास निर्माणतर्फ ध्यानाकर्षण गराउँदै राईले सुनसरी-१ सहित देशका विभिन्न स्थानमा रोकिएका विकास आयोजनाको ठेक्का प्रक्रिया शीघ्र अघि बढाउन माग गरे । विकास आयोजनाको कार्यान्वयनमा ढिलाइ हुँदा सार्वजनिक सेवा तथा पूर्वाधार निर्माण प्रभावित हुने भएकाले सम्बन्धित निकायले प्रक्रियागत काममा गति दिनुपर्ने उनको भनाइ थियो ।