
काठमाडौँ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत लिन प्रक्रिया अघि बढाएका छन् । उनले बुधबार प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् ।
नेकपा संसदीय दलका नेता भट्ट २९ साउनमा नेकपा एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेपछि संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले उनले त्यससम्बन्धी प्रक्रिया अघि बढाएका हुन् ।
विश्वासको मत लिने विषयमा निर्णय गर्न भट्टले मंगलबार नेकपा संसदीय दलको बैठक बोलाएका थिए । बैठकबाट बुधबार प्रदेशसभामा विश्वासको मत लिने निर्णय गरिएको हो ।
यसका लागि मुख्यमन्त्री भट्टले मंगलबार नै प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आवश्यक बैठक आह्वान गर्न आग्रह गरेका थिए । उनको पत्रका आधारमा बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने गरी कार्यतालिका तय गरिएको छ ।